निर्वाचन आयोगले देशैभरी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै पटकमा गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिका अनुसार असोज २३ गते मनोनयन दर्ता गरेका विभिन्न राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले हाल आफूलाई जिताउनका लागि मतदातासम्म पुग्ने र आफूलाई भोट दिन आग्रह गरीरहेका छन् । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेतृ कोमल वलीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहनुभएकी ओलीसँग चुनावी एजेण्डाका बारेमा गरिएको कुराकानी सारसंक्षेप ।
निर्वाचनको प्रचारप्रसार कसरी अघि बढेको छ ?
हामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा रहेका छौँ । हामीले निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचारप्रसारलाई चरणबद्ध रुपमा अघि बढाएका छौँ । पहिलो चरणमा हामीले घरदैलो अभियानलाई चलाएका छौँ । त्यसबाहेक हामीले चुनावी सभा, रात्रिकालीन भेटघाटलाई प्राथमिकतामा राखेका छौँ । सबै कार्यकर्ताहरू निरन्तर रुपमा हामीलाई साथ दिनुभएको छ ।
हामीले पहिलो चरणमा गरिरहेको घरदैलो अभियानलाई सबैले मन पराउनुभएको छ । सबै मतदाताको घरमा पुगेर सूर्यमा भोट मागीरहेका छौँ । जनता एमालेप्रति आकर्षित भएका छन् । हाम्रो प्रयास सम्पूर्ण मतदातालाई उहाँहरूको घरमै भेट्ने प्रयास हो । मतदाताहरू अहिले धान ढल्याउने काममै व्यस्त हुनुभएको छ । घरमै भेट हुन नसके पनि हामीले उहाँहरूलाई खेतबारीमा पुगेर भेट्ने गरिरहेका छौँ । निर्वाचन आचार संहितालाई ध्यानमा राखेर निर्वाचनको प्रचार शैलीलाई प्रचार गरिरहेका छौँ ।
यस्तै हामीले घरदैलो बाहेक उद्योगी, व्यवसायी, समाजसेवी, साहित्यकार, कलाकार तथा पत्रकार एवं समाजका बुद्धिजीवीहरूलाई पनि समय मिलाएर भेट गरिरहेका छौँ । हामीले जति जना मतदातालाई भेटेका छौँ सबै उत्साहित हुनुभएको छ । यसले हामीलाई चुनाबका क्रममा उत्साह थपेको छ ।
प्रचारका लागि सामाजिक सञ्जालको पनि खुबै सदुपयोग गर्नुभएको छ हैँ ?
प्रविधकाे युगमा सामाजिक सञ्जालको सदुपयोग गरिएको छ । हाम्रो घोषणा पत्र पनि डिजिटल प्रविधि मार्फत सार्वजनिक भएको तपाईँलाई थाहा छ । मैले पनि चुनाब प्रचार तथा भोट माग्नका लागि सामाजिक सञ्जालको प्रयोग गरेको छु । मेरो सचिवालयले सामाजिक सञ्जाल प्रयोग गरिरहेको छ । विशेषगरी फेसबुक र टिकटको प्रयोग हामीले गरेका छौँ । मतदाताको घरसम्म पुग्न नसके पनि सामाजिक सञ्जाल मार्फत पुगेका छौँ । यो गज्जबको तरिका पनि हो ।
तपाईँलाई यो क्षेत्रका मतदाताले किन जिताउने ?
मैले राजनीतिमा जहिलेदेखि चासो र चिन्ता राख्न थाले त्यही समयदेखि यही क्षेत्रलाई पहिलो रोजाईमा राखेको छु । विकास निर्माणका योजना अघि सार्दा मैले यही क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेकी छु । मलाई नेकपा एमालेले राष्ट्रियसभामा लगेपछि जनताका सरोकार राख्ने बिषयलाई जोडदार रुपमा बोलेकी छु । यसक्षेत्रका पुल, बाटो, विमानस्थल, खानेपानी, सिचाई, स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको सबैलाई थाहा छ ।
यस्तै विकास निर्माण गर्नका लागि पनि मलाई यसक्षेत्रका जनताले जिताउनुपर्ने अबस्था सिर्जना भएको छ । हिजो कोभीड महामारीको समयमा स्वास्थ्य मन्त्रालय मार्फत धेरै काम गरेको छु । राजनीतिमा क्रियासिल हुनुअघि मैले पत्रकारिता र कलाकारिता मार्फत समाजसेवा गरेको सबैलाई जगजाहेर छ । यसक्षेत्रका जनताको जीवनस्तर बदल्नका लागि अनि यसक्षेत्रको भौतिक पुर्बाधार निर्माणका लागि मलाई जिताउनु पर्छ ।
यसक्षेत्रका जनताको भावना, चाहाना अनुसार मैले काम गर्ने छु । सबैले मलाई उत्साह थप्नुभएको छ । मलाई यसक्षेत्रका जनताले जिताएपछि पछुताउनुपर्ने काम केही पनि गर्ने छैन । दाङमा त्यो पनि यही क्षेत्रमा जन्मे हुर्केको मान्छे दंगाली चेली भएको नाताले पनि मलाई यसक्षेत्रका जनताले जिताउनुपर्ने छ । छोरीहरुले केही गर्न सक्दैनन् भन्नेहरुका लागि पनि यसक्षेत्रका जनताले मलाई जनताले जिताउनुपर्ने छ ।
यसक्षेत्रको बिकासका लागि कोमल वलीलाई जिताउनुपर्ने हो त ?
इमान्दार पुर्बक बिकास निर्माणको काम गर्ने नै हो भने यसक्षेत्रका जनताले मलाई नै जिताउनु पर्छ । किनभने मेरो हुटहुटी यही क्षेत्र हो । मेरो सपना यही क्षेत्र हो । समृद्ध क्षेत्र र यसक्षेत्रलाई नमुना क्षेत्र बनाउने मेरो चाहाना छ । हाम्रो पार्टीको सरकार हुदा यसक्षेत्रको बिकासका लागि धेरै काम गरेका छौँ ।
हिजो हाम्रो पार्टीको सरकार हुदा यसक्षेत्रको बिकासका लागि हामीले धेरै काम गरेका छौँ । पार्टीका अध्यक्ष केपी शर्मा वली र प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल हुदा हामीले कति काम गरेका छौँ सबैलाई थाहा छ नि ! यसक्षेत्रमा रहेका खोला तथा बबई नदिमा हामीले झुलुंगे पुल निर्माण गरेका छौँ । त्यसक्षेत्रका जनतालाई खोला तथा बबई नदि पार गर्न धेरै सजिलो भएको छ । यसक्षेत्रका स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ ।
संघीय सरकार र प्रदेश सरकार मार्फत यसक्षेत्रको बिकासका लागि धेरै योजनाहरु अघि बढेको सम्पूर्ण मतदातालाई जानकारी नै छ । कतिपय योजनाहरु अहिले पनि अलपत्र अबस्थामा रहेका छन् । अलपत्र रहेका योजना अनि बर्तमान सरकारले यसक्षेत्रप्रति गरेको ब्यबहारको अन्त्य गर्नलाई पनि मतदाताले मलाई जिताउनुपर्ने देखिन्छ ।
तपाईले चुनाब जित्ने आधार के-के हुन् ?
मलाई र मेरो पार्टी नेकपा एमालेलाई जनताको जनबिश्वास छ । नेकपा एमाले र एमालेले अघि सारेका सम्पूर्ण उम्मेदवारलाई दैनिक जनताको बिश्वास बढ्दै गएको छ । यसको मतलब हिजो एमालेप्रति जनताको बिश्वास थिएन भन्न खोजेको होइन । अर्को तर्फ आम जनताले बिगतमा नेकपा एमालेको सरकार हुदा त्यो सरकारले गरेको कामलाई मुल्यांकन गरेकै छन् । एमालेको सरकारले अघि सारेका योजना २०७८ साल असार २९ गते गठन भएको परमादेशको सरकार गठन भएपछि अलपत्र रहेका छन् । यो बिषय सबैलाई थाहै छ त ? बर्तमान सरकारले राम्रो काम गरेकै छैन । हामी जनताको सल्लाह सुझावका आधारमा सरकारले जनताका कुरालाई ध्यानमा राखेर काम गछौँ भनेका छौँ ।
तपाईको प्रतिष्पर्धा गठबन्धनका बिरुद्ध हो नि ?
मलाई थाहा छ । हामी पाँच दलीय गठबन्धनका बिरुद्ध हाम्रो प्रतिष्पर्धा हो । हामीले भनेकै छौँ । हामी जतिसुकै दलहरु मिलेर आए पनि हाम्रो पार्टी एक्लै चुनाबी मैदानमा जानलाई तयार रहेको छ । हाम्रो पार्टी र हाम्रो बिरुद्ध पाँच दलका नेताहरु गठबन्धन भएको हो । महागठबन्धन भए पनि हाम्रो पक्षमा जनता छन् । नेताहरु मिलेर केही हुदैन, हामीलाई जनताको साथ छ । माथि नेता मिलेका होलान् तल गाउँमा जनताको मत उनीहरुसंग जोडिएको छैन, हामीसंग जोडिएको छ ।






