दाङका चार स्थानीय तहमा बैंक सेवा सुरु हुने

तुलसीपुर,१२ पुस ।
दाङमा कुनै पनि बैंकका शाखा नभएका चार स्थानीय तहमा छिट्टै बैंक सेवा सुरु हुने भएको छ । राष्ट्र बैंकको निर्देशनमा जिल्लाका चार स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी सेवा दिने तयारी गरेका हुन् । राप्ती पोष्टमा खवर छापिएको छ । जिल्लाका बंगलाचुली, राजपुर, शान्तिनगर र दंगीशरण गाउँपालिकामा छिट्टै शाखा स्थापना गरी बैंकीङ सेवा दिने तयारी भएको जनाइएको छ ।

जिल्लाका चार स्थानीय तहमा सेञ्चुरी, सिटिजन्स, एनसीसी र नेपाल ईन्भेष्टमेन्ट बैंकले शाखा कार्यालय स्थापना गरेर कारोबार गर्ने तयारी गरेका हुन् । जिल्लाको दक्षिणी क्षेत्र राजपुरमा सेञ्चुरी बैंकलाई शाखा स्थापना गरी सेवा दिन निर्देशन दिइएको छ भने उत्तरीक्षेत्र बंगलाचुलीमा सिटिजन्स बैंकलाई शाखा कार्यालय स्थापना गर्न निर्देशन राष्ट्र बैंकले दिएको छ ।

यस्तै जिल्लाको पश्चिम क्षेत्रमा रहेका दंगीशरण गाउँपालिकामा एनसीसी बैंकलाई शाखा कार्यायल स्थापना गरी सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यसैगरी शान्तिनगरमा नेपाल ईन्भेष्टमेन्ट बैंकलाई शाखा खोल्नका लागि निर्देशन दिइएको छ । हाल दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, यस्तै गढवा, राप्ती र बबई गाउँपालिकामा विभिन्न बैंकले शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा दिईरहेका छन् ।

देशमा रहेका सात सय ५३ स्थानीय तहमध्ये चार सय ११ वटा तहमा कुनै पनि बैंकले सेवा दिन सकेका छैनन् ।।

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार
प्रतिक्रिया