तुलसीपुर,९ भदौ । आउँदो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउने भएको छ । सधैँझैं यस वर्ष पनि अट्वारी पर्व भदौको १२ गते वा १९ गते मनाउने बिषयमा विवाद देखिएको छ । धेरैले आगामी भदौ १२ गते अट्वारी पर्ने भनि रहँदा केहीले भदौ १९ गते पर्ने भन्दै आएका छन् । हरेक वर्ष कृष्ण जन्माष्टमीको दुई आइतबारपछि अर्थात् कुशे औंसीको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउँदै आएका छन् ।
यसैबीच थारू आयोगले यस वर्षको अट्वारी पर्व भदौ १२ गते भएको जनाएको छ । थारू आयोगले थारू अगुवा तथा संस्कृति विद्हरुसँग छलफल गरेर यस वर्षको अट्वारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभयो । थारू आयोगले यस वर्षको अट्वारी भदौ १२ गते भएको जनाएको छ । थारु संस्कृति जानकारका अनुसार अस्टिम्की पर्व पछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने गरेकाले सोहीअनुसार आफूहरुले थारू आयोगको क्यालेण्डरमा लिखित मिति उल्लेख गरेको छ ।
त्यसैगरी थारू कल्याणकारिणीसभा (थाकस) दाङले पनि भदौ १२ गतेका दिन अट्वारी मनाउन थारू समुदायललाई अपिल गरेको छ । सभाका जिल्ला अध्यक्ष भुवन चौधरी र सचिव प्रकाश चौधरीले एक विज्ञप्ती जारी गर्दै अस्टिम्की पर्वपछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने भएकाले यस वर्ष भदौ १२ गते अट्वारी मनाउन आग्रह गरेको छ ।