सामाजिक संजालको पराकाष्टा, निधन नहुँदै श्रद्धान्जली !

तुलसीपुर, ५ भदौ । श्रद्वान्जली मान्छेको भावनासँग गाँसिएको हुन्छ । तर हिजोआज मान्छेहरु श्रद्धान्जली दिन यति हतारिन थाले कि मानौं कहिले मर्ला र हार्दिक श्रद्वान्जलीवाला स्ट्याटस पोष्ट्याऊला भन्ने मनस्थिति मै छन् मान्छे ! जसको कारण श्रद्वान्जली भन्ने शब्द नै लज्जित बनिसक्यो । हद पार गर्नुको पनि हद हुन्छ, हद नै नाघेपछि कसलाई के भन्न सकिन्छ र ?

शुक्रबार दिउँसो एकाएक नेपाली काँग्रेसका नेता प्रदिप गिरीको निधन भयो भन्दै फेसवुकमा फोटो सहित श्रद्धान्जी आयो । त्यसको कुनै औपचारिक पुष्टि बिना जिउँदो मान्छेको मृत्यु भन्दै दुःख व्यक्त गरियो । काठमाण्डौको मेडीसीटीमा उपचार गराईरहनुभएका गिरीलाई कार्यकर्ता देखि नेतासम्मले गिरीको योगदान सहितका फुलबुट्टा भरेर गुणगान गाउँदै जिउँदो मान्छेको निधन भन्दै श्रद्धान्जली दिन थाले । अब तपाई भन्नुस अस्पतालमा उपचार भइरहेको व्यक्तिलाई हार्दिक श्रद्धान्जली भनेपछि उपचार गराईरहेको व्यक्ति, आफन्त, स्टमित्रलाई कस्तो पिडाबोध हुन्छ होला ? यसको कुनै कल्पना गर्न सकिदैन । उहाँको निधन भएको छैन भनेर कतिपयले फेसवुक मार्फत प्रष्ट पारिरहनु भएको छ तै पनि हार्दिक श्रद्धान्जली दिने क्रम रोकिएन ।
जवकी काँग्रेस नेता गिरीको शनिबार राति साढे नौ बजे मृत्यु भनेर चिकित्सकले पुष्टि गरे । हामी भने अघिल्लो दिनबाट श्रद्धान्जली दिन लालयीत भयौं । यस्तो गलत कार्य काँग्रेसका जिम्मेवार नेताबाट पनि भएको छ । के भयो कस्तो भयो भनेर उहाँहरुले एक कल फोन गरेर सोध्न सक्नु हुन्न ? यहाँ खास उल्लेख गर्न खोजिएको कुरा के हो भने हामी समाजिक संजालका नाममा कति अराजक, कति हावादारी कति बेकुवी भएका छौ भन्ने कुराको यसले पुष्टि गर्दछ । सकारात्मक चिन्तन, दृष्टिकोण र विचार प्रवाह भन्दा पनि सामाजिक संजाल फेसवुकलाई जन्मदिन, श्रद्धान्जली र कसैलाई गाली गर्न प्रयोग गरिरहेका छौं । दुःख र सुखमा पनि साथ दिनुपर्छ नदिने होइन तर सत्यतामा आधारित हुनुप¥यो । जिउँदो मान्छेलाई हार्दिक श्रद्धान्जली होइन ।
कसैले सनकका भरमा समाजिक संजालमा कसैका बिरुद्ध लेखिदियो भने हाम्रो दिनभरको नास्ता त्यही हुन्छ । वास्तविकता नबझुेर हामी फलानो यस्तो उस्तो भन्दै हाम्रो दिमागलाई त्यतातिर चलाईरहेका हुन्छौ । नबुझेको विषयमा फटाफट कमेन्ट गर्ने होइन बास्तविकता बुझेर मात्र हामीले हाम्रो फेसवुकमा लेख्यौं , कमेन्ट गर¥यौ भने त्यसले हामीलाई गलत बाटोबाट जोगाउँछ । सम्बन्धित व्यक्तीले आज मेरो जन्मदिन होइन भनिरहेको हुन्छ कसैले जन्मदिन लेखिदियो भने बुझ्नु छैन, जान्नु छैन अनि सुरु भयो हावाका भरमा बर्थ डे दिन । कसैले बर्थ डेको शुभकामना दिइरहेको हुन्छ । अनि कमेन्ट आउँछ हार्दिक श्रद्धान्जली । हामीले कसलाई कुन विषयमा कमेन्ट ग¥यौं भनेर हामीलाई जान्ने, बुझ्ने फुर्सद छैन ? यस्तो मान्छेलाई अब के भन्ने तपाँई आफै विश्लेषण गर्नुस । फेसवुक व्यक्तिगत भएपनि यसमा लेखिने विषय वस्तुले समाजमा निकै प्रभाव पार्दछ । त्यसकारण अराजकहरुको भिडबाट बाहिर निस्कनका लागि सुझबुझ ढंगले लेख्न र सत्य, तथ्यको खोजि गरेर हाम्रा विचार पस्किन आवश्यक छ ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार
प्रतिक्रिया