तुलसीपुर, १५ साउन । दाङको टरिगाउँ एयरपोर्टमा जहाजमा तेल भर्न ल्याइएको बाउजरलाई अन्यत्र लैजाने तयारी गरिएको छ । साविक राप्तीका सल्यान, रोल्पा, रुकुम, प्यूठानलाई समेत पायक पर्ने दाङको एकमात्र टरिगाउँ एयरपोर्टमाा गएको जेठ १२ गते बाउजर ल्याइएको थियो । इन्धन डिपोको निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला जहाजमा तेल भर्ने ११ हजार लिटर क्षेमताको बाउजर रामेछापको मन्थली बिमानस्थलमा लग्ने तयारी गरिएको हो ।
“३÷४ दिन अघिको कुरा हो । म विभागमा गएको बेला हवाई इन्धनको विभागीय प्रमुख नेत्रप्रसाद काफलेले मन्थलीको बाउजर बिग्रेको छ । दाङको मन्थली पठाउने र काठमान्डौबाट मर्मत गरेर अर्को बाउजर दाङ पठाउने भन्नु भएको थियो ।” इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन कुमार श्रेष्ठले भन्नुभयो । आफु कर्मचारी मात्र भएकाले विभागबाट निर्देशन आएमा बाउजर बाहिर पठाउनुपर्ने भन्दै इन्धन डिपो प्रमुख श्रेष्ठले आफुलाई भन्दा पनि हवाई विभागमा कुरा गर्न आग्रह गर्नुभयो ।
बाउजर बाहिर लैजाने हल्ला सुनेपछि नागरिक आक्रोशित
बाउजर बाहिर लग्ने हल्ला भएपछि यस क्षेत्रका नागरिकहरु आक्रोशीत भएका छन् । बाउजर मेसिन बाहिर जान लागेको अपुष्ट कुरा सुनेको बताउँदै तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आफुहरुले कुनैपनि हालतमा लग्न नदिने बताउनुभयो । त्यो समुदायको पनि सम्पती भएकाले मनपरी गर्ने छुट कसैलाई नभएको बताउँर्दै अध्यक्ष चालिसेले जबरजस्ती लग्न खोजे भिडले जेपनि गर्ने र त्यसको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने बताउनुभयो ।
बल्लतल्ल तुलसीपुरमा आइपुगेको नयाँ बाउजरलाई लगेर पुरानो मर्मत गरेर पठाउँछौ भन्नु दाङलाई हेर्ने दृष्टिकोणमा नै विभागको विभेद देखिएको भन्दै अध्यक्ष चालिसेले यस क्षेत्रका नागरिकलाई कम नआँक्न चेतावनी दिनुभयो । एयरपोर्टको धावनमार्गको स्तरउन्नतीका लागि समेत लागि पर्नुभएका अध्यक्ष चालिसेले बाउजर मेसिन रोक्नका लागि यसक्षेत्रबाट प्रतिनिधित्व गर्ने मन्त्री, राजनीतिक दल, सरोकारवाला निकाय सबैसंग समन्वय गरिरहनु भएको छ ।
तत्कालिन तुलसीपुर उपमहानरपालिका मेयर घनश्याम पाण्डे, लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल लगाएत यसक्षेत्रका राजनीतिक दलहरुको ठूलो संघर्ष र पहलका बाबजुत बाउजर मेसिन आएको थियो । अहिले हवाइ इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।





