तिन दशक पछि आँखा अस्पताल देखी घोरानेटी सडकले मुहार फेर्दै , तत्काल तिन किलोमिटर सडक कालोपत्रे हुने

तुलसीपुर ,७ मंसीर ।रक्षाचौर आँखा अस्पताल हुदै घोराही हापुर जोड्ने सडक नामाकरण भएको बर्षौ समय भयो ।उक्त सडकले अहिले सम्म पुर्णता पाउन सकेको छैन । तर आँखा अस्पताल देखी घोरानेटी जोड्ने सडकले भने तिन दशक पछि मुहार फेर्न लागेको छ । बर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडक कालोपत्रे हुन लागेको छ ।
केहि बर्ष पहिले बर्षातको समयमा झन्डै तिन महिना सवारी आवगमन बन्द हुने गर्दथ्यो । २०७४ सालको स्थानिय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आईसकेपछि बाह्रै महिना यातायात सेवा सुचारु हुदै आएको उक्त सडक अहिले कालोपत्रे हुन लागेको छ ।

जनप्रतिनिधिहरुको पहलमा नियमित रुपमा सडक सुचारु भएपनि अहिले सडक कालोपत्रेको काम धमाधम भईरहेको छ ।अहिले मजुवा देखी कौवाखोली सम्म सडक फराकिलो बनाउने, पक्की नाला निर्माण गर्ने, वाल लगाउने, जाली लगाउने जस्ता कामहरु भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले जानकारी दिनुभयो । आँखा अस्पताल हुदै घोराही हापुर जोड्ने सडक अन्र्तगत राप्ती राजमार्ग देखी घोरानेटी जोड्ने कौवाखोली सम्म अहिले तिन किलोमिटर सडक कालोपत्रे हुन लागेको उहाले जानकारी दिनुभयो ।

वडा कार्यालय र उपमहानगरपालिकाको निरन्तर पहलमा बर्षौपछि आँखा अस्पताल हुदै घोरानेटी जोड्ने सडकले मुहार फेर्न लागेको उहाले बताउनुभयो । गत आर्थिक वर्ष ०७७÷७८ बाटै काम गर्ने तयारी गरेपनि आबश्यक प्रक्रियामा ढिलाई हुदा चालु आर्थिक वर्षबाट काम सुरु भएको उहाले बताउनुभयो ।उहाले आफुहरुको कार्यकाल भित्रै आँखा अस्पताल हुदै ग्वारखोला सम्म सडक स्तरोन्नती गर्ने योजना रहेको बताउनुभयो । यस अघिका बजेटले घोराहीबाट सुरु हुदै आएकोमा आफुहरुको पहलले गर्दा रक्षाचौर आँखा अस्पतालबाट काम सुरु भएको उहाले बताउनुभयो ।

उक्त सडक कालोपत्रेका लागी संघिय सरकारबाट बजेट विनियोजन भएको हो । घोराही मसिना आँखा अस्पताल ,पवननगर हुदै पुरन्धारा जोड्ने बैकल्पिक सहायक राजमार्ग शिर्षकमा आएको बजेटले गत वर्षबाट काम भईरहेको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर अमित सुवेदीले जानकारी दिनुभयो ।गत वर्ष घोराही देखी सुरु गर्ने भनेर संघिय सरकारबाट २० करोड बजेट विनियोजन भएकोमा १२ करोडको मात्रै टेण्डर भएको उहाले जानकारी दिनुभयो । त्यसमध्ये बाँकी रहेको आठ करोड बजेटले राप्ती राजमार्ग आँखा अस्पताल देखी सडक कालोपत्रेका टेण्डर आह्वान गर्दा ४ करोडमा ठेक्का सम्झौता भएको उहाले जानकारी दिनुभयो ।

सो बजेटले हाल आँखा अस्पताल हुदै घोरानेटी जोड्ने तिन किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागी चार वटा निर्माण कम्पनीले जिम्मा लिएका छन् । चार प्याकेटमा विभाजन गरी उनीहरुले काम गरीरहेको उहाले जानकारी दिनुभयो ।जसमा दुई प्याकेज(भाग) रिने निर्माण सेवाले जिम्मा लिएको छ भने महाशक्ति विल्र्डस र बासिस्टा निर्माण सेवा काठमाण्डौले पनि जिम्म लिएका छन् । ती मध्ये बासिस्टा निर्माण कम्पनीले पेटी ठेकेदार जलजला निर्माण सेवाका संचालक अमृत वलीलाई जिम्मा दिएको छ ।
थप १२ करोड बजेट विनियोजन
घोराही हापुर हुदै आँखा अस्पताल, पवननगर देखी पश्चिम पुरन्धारा सम्म जोड्ने सडक भएकाले फेरी १२ करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा उक्त बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर अमित सुवेदीले जानकारी दिनुभयो ।तर उक्त बजेट टेण्डर नभई सिधै खर्च प्रक्रियामा जानेछ । आयोजना ठुलो भएकाले थप बजेट आएको उहाले जानकारी दिनुभयो ।

यस अघि कोरोना माहामारी लगाएतका कारणले समयमा काम गर्न नसकीएको हुदा हाल काम गरीरहेका निर्माण कम्पनी मार्फत उक्त बजेट खर्च हुने उहाले जानकारी दिनुभयो । गत वर्षको बजेटले कोरोनाका कारण गति लिन ढिलाई भएको पनि उहाले बताउनुभयो । थप आएको बजेटले घोराही र तुलसीपुर दुवै तर्फबाट काम हुनेछ ।
राप्ती राजमार्ग हुदै पवननगर पुरन्धारा सम्म ट्रयाक खोल्ने तयारी
घोराही हापुर हुदै आँखा अस्पताल, पवननगर देखी पश्चिम पुरन्धारा सम्म जोड्ने सडक विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । यस अघि घोराही हापुर हुदै राप्ती राजमार्ग जाड्ने आँखा अस्पताल सम्मको सडक विस्तारको काम भईरहेको छ । यस सडकलाई सहायक सडक मार्गका रुपमा हेरिएको छ । घोराही हापुर देखी पश्चिम पुरान्धारा सम्मसहायक सडक विस्तार गर्नका लागी डिपिआर निर्माण भईरहेको छ ।सडक डिभिजन कार्यालयका ईन्जिनियर अमित सुवेदीका अनुसार ३३ किलोमिटरको डिपिआर भएको छ ।

अब आईईए प्रतिवेदन तयार गर्ने प्रक्रीया अघि बढेको छ । यो प्रतिवेदन सम्पन्न भएमा तुरुन्तै आँखा अस्पताल देखी पवननगर हुदै पश्चिम पुरन्धारा सडक विस्तारको ट्«याक खोलिनेछ ।अहिले यसैको तयारी भईरहेको र परियोजना धेरै ठुलो भएकाले धेरै बजेटको आबश्यक पर्ने पनि उहाले बताउनुभयो । आईईए प्रतिवेदन स्वीकृत हुने बित्तिकै राप्ती राजमार्ग अन्र्तगत आँखा अस्पताल हुदै पश्चिम पवननगर पुरन्धाराका लागी जंगलैजंगल ट्रयाक खोलिने छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया