नेपाल क्रिकेटः एकदिवसीय खेलमा पपुवा न्यूगिनीसँग सङ्घर्षपूर्ण जित

 

बीबीसी, २२ भदौ । नेपालले पपुवा न्यूगिनी विरुद्ध दुई विकेटको जित हात पारेको दिन नेपाली क्रिकेट टोलीमा धेरै नयाँपन देखिएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा नेपालले मङ्गलवार पपुवा न्यूगिनीलाई पराजित गरेको हो।  मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल र अलरान्डर सोमपाल कामीको धैर्यपूर्ण ब्याटिङमा नेपालले सहज जित पाउने अपेक्षा गरिएको खेलमा सङ्घर्षपूर्ण विजय प्राप्त गरेको हो।

रोहितले ४१ र सोमपालले अविजित २२ रन बनाएर धर्मराइसकेको टोलीलाई सम्हाले। त्यसअघि सुरुआतमा ओपनर कुशल भुर्तेलले १५ रन आशिफ शेखले ३० रनको योगदान दिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभर खेलेर १३४ रन मात्र जोड्न सकेको थियो।

ओमानमा अमेरिका सम्मिलित आईसीसी विश्वकप लिग २ खेल्न आएको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग दुईवटा एकदिवसीय खेल खेलिरहेको हो।

दोस्रो खेल भाद्र २५ गते हुनेछ।

 

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया