प्रादेशिक अस्पतालको मुद्दा र सरोकार बेठीक छ त ?

दाङ, १३ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डांक्टर विनोद सिंह माथी कार्यकक्षमै कालोमोसो दलेको विषयलाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । गत शुक्रवार अनेरास्ववियु दाङका संयोजक सर्जन परियारको नेतृत्वमा डाक्टर सिंह माथी कालोमोसो दलेर अभद्र व्यवहार गरिएको भन्दै घटनाको चौतर्फी विरोध पनि भईरहेका छन् । उक्त घटनाको निन्दा गदै विभिन्न टिकाटिप्पनीहरु पनि सामाजिक संजालमा छरपस्ट भएका छन् । अस्पतालका प्रमुख तथा चिकित्सक माथी दुव्र्यवहारजन्य कार्य कसैको लागी राम्रो कार्य होईन । यस्तो अमानविय व्यवहार गर्नु हुदैनथ्यो र यो घटना अत्यन्तै दुखद र निन्दनिय छ । तर किन यस्तो घटना भयो भन्ने आम नागरिक चासोको विषय बनेको छ । तथापी घटना हुनुको कारण पनि केलाउन जरुरी छ ।

प्रसंङग राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको सेवा प्रवाह र डा.माथि हातपात तथा कालोमोसो सम्बन्धमा ः

प्रादेशिक अस्पतालको सेवा प्रवाहमा ढिलासुस्ती र चरम लापरबाहको मुद्दा उठाउंदै विद्यार्थी नेता सर्जन परियार लगाएतले त्यहाँ कार्यरत मेसु डा.बिनोद सिंह माथि गरेको दुव्र्यवहार तथा कालोमोसो दलेको कर्मलाई समर्थन गर्न नसकिएला र सकिदैन पनि ।तर के उहाले उठाएको मुद्दा र सरोकार बेठीक छ त? राप्ती प्रादेशिक अस्पतालको सेवा सुबिधा र सेवा प्रबाहमा चरम लापरबाही,गैर जिम्मेवार प्रवृत्ति र बेथितिको थुप्रो र डुङ्गुर छ भन्ने कुरा त्यस अस्पताल भित्र प्रबेश गरि एकचोटि सेवा लिन गएको हर कोहि सेवाग्राहीले सहजै महशुस गर्न सक्छ । गुनासो ब्यक्त गर्दछ। उसो त सरकारी अस्पतालको दशा जहाँकतै त्यस्तै देखिन्छ । नढांटी भन्ने हो भने त्यस सम्बन्धमा स्थानीयबासी,सचेत नागरिक समाज,युवा तथा बिद्यार्थी र सम्पूर्ण राजनीतिक पार्टी नेतृत्व समेत जानकार छ । प्रायको मुखबाट सुन्नमा आउँछ राप्ती प्रादेशिक अस्पतालमा उचित औषधि उपचारको प्रबन्ध होइन कि रिफर सेन्टरको नाममा विकसित हुँदैछ,गम्भीर घाइते तथा बिमारीको उपचारको कुरा छाडिदिनुहोस सामान्य रुघाखोकी,टाउको दुखेको,टाइफाइडका बिमारी,हातखुट्टा भांचिएको र प्रसुती सेवाका बिमारी पनि ढुक्कका साथ र भरबिश्वास गर्न नसकि स्थानीय मेडिकलमा भरपर्न र लाइन लाग्न बाध्य पारिदो छ ।

के यसो हुनु ठिक हो त?के यसबारेमा सरोकारवाला,नागरिक समाज,राजनीतिक पार्टी नेतृत्व र खुदै अस्पताल ब्यबस्थापन समिति बेखबर र नामालुम छ?अहं त्यसो कदापी होइन सबै पक्ष जानकार र साक्षात्कार छन् । अनि किन त्यहाँको सेवा सुबिधा प्रति सेवाग्राहीबाट बारम्बार प्रश्न उठाउंदा र गुनासो आइरहदा पनि अस्पताल ब्यबस्थापन कार्य समिती,स्थानीय जनप्रतिनिधि,राजनीतिक पार्टी नेतृत्व र नागरिक समाजले बेलैमा ध्यान खबर राख्दै त्यस सम्बन्धमा अस्पताल प्रशासन संग आवश्यक समन्वय र सहकार्य गर्दै त्यहाँ रहेका बेथिति,गैरजिम्मेवारपन र लापरबाही बारे सच्चिन,सच्याउन र खबरदारी गर्न पहलकदमी लिन सकेको छैन त? आजको यक्ष प्रश्न सबैका सामु खडा छ ।
कोहि पनि यस प्रश्नबाट उम्किन पाउंदैन।तसर्थ अब अबेर नगरी आयन्दा अस्पतालमा कार्यरत डाक्टर नर्स र अन्य स्टाफहरुलाई सुरक्षित र भयरहित वातावरणमा आफ्नो काम प्रति पूर्ण बफादारी र जिम्मेवारीका साथ,खुशी र सहृदयी भावका साथ घाइते तथा बिमारीको सेवामा खटिन चुस्तदुरुस्त कार्य सम्पादन गर्ने वातावरण सिर्जनाको लागि सबैको साथ,सहयोगको जरुरी छ । फेरि पनि र आयन्दा डाक्टर नर्स र अन्य स्टाफ माथी सेवा प्रबाहमा ढिलासुस्ती भएको,बिमारी तथा घाइतेको रेखदेख र उपचारमा कन्जुस्याइँ भएको र सेवा सुबिधामा मनपर्दी भएको भन्दै दुव्र्यवहार,हातपात कुटपिटको स्थिति सिर्जना नहोस् र यदि भए गरेमा त्यसो गर्ने उपर बिना मुलाहिजा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन अस्पताल प्रशासनलाई कुनै छेकछन्द,रुकावट र हस्तक्षेप नहोस् त्यो बिश्वास,त्यो सदभाव र त्यो सहयोग दिलाउन सरोकारवालाले प्रतिबद्धता जनाउनै पर्छ ।
न कि आ–आफ्नो स्वार्थ सिद्दिमा अस्पताल प्रशासन र ब्यबस्थापन समितिलाई प्रयोगमा ल्याइ त्यहाँ रहेका तमाम बेथिति उपर नामालुम,अनदेखा र होजायगाको रुख अपनाइ डाक्टर नर्स भनेका कथित भगवान हुन भन्दै त्वम शरणम गच्छामी,मौनम शरणम गच्छामी बनि गलत प्रवृत्तिको ढाकछोप गर्नमा अनावश्यक भरथेग र होडबाजी गरि समय खर्चनु किमार्थ भएन ।
यसर्थ जो जहाँ छौं सबैले आ–आफ्नो क्षेत्रबाट इमान जमानका साथ कर्तव्य निर्वाहमा खटिऔ । कम्तीमा राती सुत्नेबेला ओछ्यान संग मीठो निद्रा र आनन्दको पृत गांस्न पाइयोस ।
                                                                  राम बहादुर जिसीको फेसबुकबाट

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया