तुलसीपुरका मेयरको उद्घोष– ‘अपाङगताका लागि छुट्टै अस्पताल बनाउँछौ’

तुलसीपुर, १७ साउन । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अपाङ्गता भएकाहरुका लागि छुट्टै अस्पताल बनाउने बताउनुभएको छ । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरलाई फिजियो थेरापी हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेले शारीरिक रुपमा समस्या परेकाहरुका लागि सहज रुपमा उपचारको पहुँच पुर्याउन छुट्टै अस्पतालको खाँचो रहेको त्यसका लागि उपमहानगरपालिकाले तयारी गरिरहेको बताउनुभयो ।

१९ वटै वडामा फिजियो थेरापी संचालमा ल्याउने बताउदै नगर प्रमुख पाण्डेले विपन्न वर्गहरुलाई स्थानीय स्तरमा सहज रुपमा सेवा पुर्याउने उद्देश्यले प्रत्येक वडामा फिजियो थेरापी खोल्ने तयारी गरेको बताउनुभयो ।

विशेषगरी अपाङ्गता भएका, मांशपेसी र जोर्नीमा समस्या भएका, जन्मजात मांशपेसीले काम गर्न छाडेकाहरुलाई सेवा दिने उद्देश्यले फिजियो थेरापी हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिनुभयो । थेरापी संचालनमा आउँदासम्म ३ लाख ९० हजार खर्च लागेको स्वास्थ्य शाखाले जनाएको छ ।

केन्द्रका अध्यक्ष हुमाकान्त कडेलको अध्यक्षतामा भएको कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका – ६ का वडा अध्यक्ष नवराज लामीछाने, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनीका अध्यक्ष देवीदत्त आचार्य, संवाद समूहका सहजकर्ता सुशिल बस्नेत, डाक्टर पुजा पोख्रेल, मानव अधिकार तथा शान्ति समाजका सभापति तुलसीराम सुनार, महिला अधिकारकर्मी सुष्मा गिरी, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, , राष्ट्रिय अपाङ्ग संघ जिल्ला समन्वय समितिका अध्यक्ष देवा बस्नेत लगाएतले बोल्नु भएको थियो । संघका उपाध्यक्ष इश्वरी खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दोलख खत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया