टोकियो ओलम्पिक सहभागीतामै सिमीत बन्यो नेपाल

काठमाडौं १५ साउन । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् । ३२औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमा ३ खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो । पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए । सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि फेरि एक पटक विश्व खेलकुदको कुम्भमेलामा नेपालको यात्रा सहभागितामै सीमित बन्यो । ओलम्पिकमा पदक त टाढाको कुरा पहिलो चरण पार गर्नु नै नेपालको लागि ठूलो चुनौती बनेको छ । अझ त्यो भन्दा अघि नेपाली खेलाडी छनोट भएर ओलम्पिकमा खेल्न जानु चुनौती छ । अपवादका रुपमा रहेका दुई तेक्वान्दो खेलाडीले छनोट भएर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

ओलम्पिकमा जानुअघि यस पटक जात्रा होइन यात्रा गर्ने भनेर नेपाल ओलम्पिक कमिटीले नेपाल ओलम्पिक यात्रा भनेर एउटा पत्रकार सम्मेलन गरेको थियो ।मार्चपासमा जेन्डर ब्यालेन्स
यसपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले उद्घाटन समारोहमा मार्स पासमा एक महिला र एक पुरुष खेलाडीलाई झण्डा बोक्न दिने निर्णय ग¥यो । टोकियोमा झण्डै ५० प्रतिशत महिला खेलाडी सहभागी थिए । आइओसीले जेन्डर ब्यालेन्स गराउन महिला र पुरुष खेलाडीले संयुक्त रुपमा झण्डा बोक्न पाउने निर्णय गरेपछि नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्सले राष्ट्रिय झण्डा बोके । संयोग, दुवै पौडी खेलाडी थिए ।
नेपालबाट सहभागी एक पुरुष ४ महिला खेलाडी
१९८८ को सोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए । यस पटक नेपालबाट ५ मध्ये ४ महिला १ पुरुष थिए । जसमा ८० प्रतिशत महिला खेलाडी थिए । एकै संस्करणमा नेपालबाट ओलम्पिक खेल्नेमध्ये महिला सहभागीता अहिलेसम्मकै धेरै हो ।

कल्पनाको निशामा सुधारियो
वाइल्ड कार्डमार्फत ओलम्पिकमा खेल्ने अवसर पाएकी सुटिङ खेलाडी कल्पना परियारले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दै ६१६.८ स्कोरको नयाँ कीर्तिमान बनाएकी हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि १३औं सागमा उनले ६१४.५ स्कोर गरेकी थिइन् । यस स्पर्धामा ५० सुटरले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् ।

सोनियामा १ मिनेट १६ सेकेण्डै आउट

अर्का वाइल्डकार्डबाट छनोट भएकी खेलाडी सोनिया हुन् । उनले जुडोको महिला ४८ केजीमा प्रतिस्पर्धा गरिन् । तर रुसकी इरिना डोल्गाभासँग उनी पहिलो चरणमै पराजित भइन् । बुडोकायो निप्पोनमा उनी १ मनेट १६ सेकेण्डमात्र विपक्षीसंग टिकिन् । इरिनासँग उनी इप्पोनको आधारमा पराजित भइन् ।

ओलम्पिक एक आउट जित्ने लक्ष्य राखेपनि उनी सफल हुन सकिनन् ।

एलेक्सको कीर्तिमान सुधार

पौडी खेलाडी एलेक्जान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका उनले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ५३.४१ सेकेण्डको टाइमिङ निकाले । १८ वर्षीय एलेक्सले यसअघि २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा ५६.२८ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यस पटक उनले त्यसमा २.८७ सेकेण्डले सुधार गरे । एलेक्स यस इभेन्टमा प्रतिस्पर्धा गरेका ७१ खेलाडी मध्ये ५९औं भएका थिए । एलेक्समा नेपालमै भएको १३औं सागमा यही इभेन्टमा अझ राम्रो समय सहित कीर्तिमान बनाएका थिए । तर त्यो सर्ट कोर्समा थियो । १३औ सागमा सर्ट कोर्टमा उनले ५४.३२ सेकेण्डको समय निकालेका थिए । उनी ओलम्पिकमा पौडीमा प्रतिस्पर्धा गरेर आफ्नो हिटमा पहिलो हुने दोस्रो खेलाडी बने । यसअघि २०१६ को रियो ओलम्पिकमा गौरिका आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

गौरिकाको कीर्तिमान सुधार
पौडीकै अर्का खेलाडी गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गरिन् अनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत सुधार गरिन् । महिला १०० मिटर फ्रिस्टाइलमा उनले १ मिनेट ११ मिलिसेकेण्डको समय सहित नयाँ कीर्तिमान बनाइन् । १८ वर्षीय गौरिकाले यसअघि सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा बनाएको कीर्तिमान सुधार गरिन् । यसअघि लङ कोर्समा उनको १ मिनेट ६२ मिलिसेकेण्डको कीर्तिमान थियो । गौरिकाले यसअघि नेपालमै भएको १३औं सागमा यस इभेन्टमा यो भन्दा राम्रो समय निकालेकी थिइन् ।

तर त्यो सर्ट कोर्समा रहेको थियो । २०१६ को रियो ओलम्पिकमा कान्छी खेलाडी बन्दै चर्चा कमाएकी गौरिका त्यसबेला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै आफ्नो हिटमा पहिलो भएकी थिइन् । यस पटक चार खेलाडी रहेको हिट वानमा उनी तेस्रो स्थानमा रहिन् । गौरिका हिट चरणबाट अघि बढ्न भने सकिनन् ।

२ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी उनी परिवारसँग उतै बस्ने, उतै पढ्ने र स्विमिङ गर्दै आएकी थिइन् । नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदा उनले आएर खेल्ने गरेकी छन् । बेलायतपछि अब उनी थप अध्ययनका लागि अमेरिका जाँदैछिन् ।

भाग्यमानी सरस्वतीको कमजोर प्रदर्शन
सुरुमा एथ्लेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भएपनि अन्तिममा उनको नाम हट्यो र महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिकमा खेल्ने अवसर पाइन् । यस मानेमा उनी भाग्यमानी भइन् । तर टोकियोमा उनको प्रदर्शन भने खराब रह्यो । सरस्वतीले महिला १०० मिटरमा व्यक्तिगत समयमा समेत सुधार गर्न सकिनन् ।

महिला १०० मिटरको प्राम्भिक चरण प्रतिस्पर्धा गरेकी उनी सुरुमै बाहिरिन् । दोस्रो हिटमा रहेकी उनले १२.९१ सेकेण्डमा दूरी पूरा गर्दै कूल ९ खेलाडी मध्ये आठौं स्थानमा रहिन् । यसअघि उनले १३औं सागमा निकालेको १२.५५ सेकेण्डको समय व्यक्तिगत उत्कृष्ट थियो ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया