मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम जीवन बदल्ने माध्यम बन्दै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ की जैसरी मल्ल पकर्रेको सामुदायिक भवनमा बाँस छिल्दै थिइन । गाउँघरमा प्रसस्त पाइने बाँसबाट विभिन्न सामग्री निर्माण सम्बन्धि तालिमको छैटौ दिनमा उनी लगायतका सहभागीहरु बाँसको घडी वनाउन लागिरहेका थिए । तालिमको पाँचौदिन सम्म आउँदा उनीहरुले बाँसको मुढा मज्जाले बनाउन सक्ने भएका थिए ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजको आयोजनामा भएको बाँसका सामग्री वनाउने तालिमका सहभागीहरु विभिन्न सामान वनाउन पाउँदा निकै उत्साहित देखिन्थे । “सीप भयो भने आफ्नै ठाउँमा भएको बाँसबाट पनि आम्दानी गर्न सकिदो रहेछ” सोही ठाउँका लोकबहादुर रोकाले खुसी व्यक्त गरे ।

उनले तालिम पश्चात व्यवसायीहरुमा उत्पादन थालिने पनि वताए । “बजारमा अहिले माग भएका सामानहरु बनाउने भएकाले पनि व्यवसायिक रुपमा सफल हुने विश्वास छ ” रोकाले भने । तालिममा २० जनाको सहभागिता रहेको छ । बाँसका सामग्री निर्माण थालेसँगै उनीहरुले खाली पाखोमा ५ सय बाँस समेत लगाएका छन् ।

तालिमका क्रममा मुढा, घडी, चुरा दानी, कलम दानी, स्टे« लगायतका विभिन्न सामान वनाइने प्रशिक्षक रामकुमार राईले जानकारी दिए । उनले सहभागीहरुमा सिक्न उत्सुकता भएका कारण तालिम फलदायी हुने पनि वताए । “राम्रोसँग वनाउन सकियो भने एकजनाले दैनिक ३ हजारसम्म आम्दानी गर्न सकिन्छ” प्रशिक्षक राईले भने । बाँसका सामग्रीको व्यवसाय समेत गर्दै आएका राईले पछिल्लो समय यस्ता बस्तुको माग बढेर गएको पनि वताए ।

स्थानीय रुपमा पाइने वस्तुबाट विभिन्न सामग्री वनाउँदा एकातिर आत्मनिर्भर हुने र र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले वताए । उनले कार्यक्रम मार्फत २ सय भन्दा वढिलाई यसै वर्ष स्वरोजगार बनाइएको पनि जानकारी दिए । कलेज मार्फत सञ्चालन भएका विभिन्न तालिमका सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरिएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया