काठमाडौं, ८ साउन । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत नै नवीकरण गर्न सकिने भएको हो । जसमा सवारी कर,जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने भएको छ ।
यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । यो सेवा भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने बताइएको छ ।
अनलाइन नविकरण तथा भुक्तानी सेवाको लागि बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेको छ । सो प्रणालीमा गएपछि सवारी धनी लगइन पोर्टल देखिन्छ । त्यसको तलपटि नयाँ दर्ता लेखिएको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ ।
अब बागमती प्रदेश भित्रका यातायात सेवा सुविधा अनलाइन मार्फत नै उपलब्ध हुने छन् । यो अनलाइन सेवामा ब्लुबुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजस्वको विवरण समेत आफैले हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी सहित भुक्तानी समेत गर्न सकिने भएको छ ।
हाल नागरिक एपमा सवारी कर नामक नयाँ फिचर सार्वजनिक भइसकेको छ । जसमा आफ्नो सवारीबारेमा सबै जानकारी पाउन सकिन्छ । यो अनलाइन सेवा बागमती प्रदेश अन्तर्गतका ६ ओटा यातायात कार्यालयमार्फत उपलब्ध हुने छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।