‘२५ लाख देऊ, सर्टिफिकेट लैजाउ’ भन्दै अर्थमन्त्रीलाई पत्र

काठमान्डौ, २५ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सर्टिफकेट राखेर २५ लाख दिन आग्रह गरेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले अनेरास्ववियुले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियुले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सर्टिफिकेट धितो राखेर कर्जा उपलब्ध गराउने सहज वातावरण बनाईदिन आग्रह गरेको हो । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सरकारले ‘शैक्षिक युवा स्वरोजगार कार्यक्रम’, ‘विदेशबाट फर्केका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण ऋण परियोजना’, र कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । त्यस्तै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ‘स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवलाई आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत ब्याजदरमा ३५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ’ भनी उल्लेख गरिएको छ ।

यहि व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विद्यार्थी संगठनले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । त्यस्तै सरकारले आगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म २ वर्ष अवधिको १ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था बजेटमा राखिएको छ । यो व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउनका लागि पनि अनेरास्ववियुले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया