महिला भलिबल टिमको बन्द प्रशिक्षण भोलिबाट सुरु हुने

काठमाण्डौ, २० जेठ । नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण भोलि(शुक्रवार)बाट सुरु हुने भएको छ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका लागि बन्द प्रशिक्षण हुने भएको हो । नेपाल भलिबल संघ (एनभीए) को भर्चुअल बोर्ड बैठकले महिला टिमको प्रशिक्षण भोलिबाट सुरु गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट अनुमति पाएपछि संघले प्रशिक्षणको मिति तय गरेको हो ।खेलाडीको पीसीआर परिक्षण पछि होटलमा राखेर सामाजिक दुरी कायम गर्दै नेपाली टिमको तयारी सुरु गरिने छ ।संघले टिमको मुख्य प्रशिक्षक जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया