वडाध्यक्ष ज्यु गाउँ-गाउँमा पुगेर निशुल्क कोरोना परीक्षण गरिदिनुस

तुलसीपुर । कोरोना महामारीको दोस्रो लहरले यतिबेला जनजीवन कष्ठकर बनेको छ । कोरोना विरुद्धको सक्तीशाली हतियारका रुपमा लकडाउन अपनाइएको छ । जसका कारण मुलुक यतिबेला ठप्प छ । कोरोनाका लक्षण देखिएका बिरामीहरुको संख्या बढ्दो छ । कतिपयले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको छ र उनिहरु उपचारका लागि अस्पतालमा छन् । कोहि अस्पतालको खोजीमा अहिले पनि एम्बुलेन्समा दौडिरहेका छन् । सुरुमा टाउको दुःख्ने , ज्वरो आउने, खोकी लाग्ने बिरामीले एक÷दुईदिनम्म घरमै जरीबुटी वा आयुर्वेद औषधी खाएर निको हुने प्रयास गर्छन । निको हुनुको साटो झन बढ्न थाल्छ ।

स्वास प्रस्वासमा समस्या देखिएपछि बल्ल मान्छे आतिन्छ र अनि अस्पताल जान्छन् । अस्पतालमा जाँदा पिसिआर चेक गर्ने सुझाव चिकित्सकले दिन्छन् । त्यसपछि पिसिआर रिपोर्ट पर्खदा दुई तिन दिन लाग्छ । त्यतिञ्जेल बिरामीहरु थलिसकेका हुन्छन् । कोरोना अस्पतालमा जाँदा रिर्पोट नभए राख्दैनौ भन्दै फर्काइदिन्छन् । बिरामीलाई खासगरी कोरोनाको लक्षण हुन्छ । उसलाई अक्सिजनको अभाव हुन्छ । बल्तल्ल अस्पतालमा भर्ना गर्यो । रिर्पोट पोजेटिभ आउने वित्तीकै ननकोभिड अस्पतालले त्यहाँबाट कोरोना अस्पतालमा जाउँ भन्दै ढलेको बिरामीलाई उठाएर पठाउँछन् । अन्य कुनै रोगले मान्छे बिरामी भएपनि कोरोना नै हो कि भनेर अघिपछि बोलचाल गर्ने गाउँ बस्न आउने आफन्त र छिमेकीहरु पनि टाढीन्छन् । त्यसले बिरामीको झन मनोबल गिरछ ।

पिसिआर परीक्षणका लागि कहाँ जाने के गर्ने सर्वसाधरण नागरिक अनविज्ञ हुन्छन । बिरामी बोक्ने एम्बुलेन्सले पनि मौका नै हो भनेर चर्को शुल्क असुल्छन् । जसकार कारण एउटा सामान्य नागरिककाे पिसिआर रिपोर्टका लागि दौडधुप गर्दागर्दै अकालमा ज्यान जान्छ । त्यसैले नागरिकलाई यति बेला विकास भन्दा पनि ज्यान प्यारो छ । प्रत्येक वडामा वडा सरकार छन् । जनतालाई यतिबेला घर अगाडी पक्की सडक भन्दा पनि उपचारको खाँचो छ । विकास त जनता बाँचेपछि अहिले नगरे अर्को बर्ष पनि गर्न सकिन्छ ।

तर जनता नै नरहे केको र कसका लागि विकास । यदि साँचिक्कै जनतालाई गाउँमा सरकार छ भन्ने अनुभूति गराउने हो भने कोरोनाको लक्षण देखिएका बिरामीको पहिचान गरेर पायक पर्ने स्थानमा बोलाएर पिसिआरका लागि स्वाब संकलन गर्ने हो भने धरै नागरिकको ज्यान बच्न सक्छ । किनकी सहज रुपमा घर अगाडीबाट पिसिआरको रिपोर्ट चेक गरेर कोरोना परीक्षण गर्दा सुरुमा रोग पत्ता लाग्ने र उपचार पनि तत्तकाल हुने भएकाले कोरोना निको हुन्छ । यसका लागि वडाअध्यक्षहरुले गोजीको पैसा हाल्नु पर्दैन । हाल विकास र तालिममा छुट्याएको बजेट रकमान्तर गरे पुग्छ । संकट परेका बेला जनतालाई साथ दिने नेता सबै भन्दा नजिक र प्यारो हुन्छ । त्यसैले वडाअध्यक्ष ज्यु गाउँ गाउँमा पुगेर कोरोना लक्षण देखिएका बिरामीको पहिचान गर्नुस र निशुल्क पिसिआर चेक गराउनुस जनताले तपाईको जयजयकार गर्नेछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया