भौतिक पूर्वाधारको विषयमा तुलसीपुरमा बृहत छलफल

तुलसीपुर, ४ बैशाख । भौतिक पूर्वाधार विकासकालागि तुलसीपुरमा बृहत छलफल भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको सडक पूर्वाधार विकास र समस्या समाधन विषयक सर्बपक्षिय बैठकमा बोल्दै सहभागीले राजनीतिक दलको एकता र सहमतिले नै विकासको ढोका खुल्ने बताए ।
विवादका कारण अमिलिया तुलसीपुर सडक, तुलसीपुर–सुर्खेत सडक, बिजौरी छिल्लीकोट सडक, घोराही राप्ती आँखा अस्पताल जोड्ने सडक, तुलसीपुरको वीरेन्द्र चोकदेखि सल्यान जाने सडकको स्तरउन्नति र चौडा हुन नसकेपछि उपमहानगरपालिकाले सर्वपक्षिय बैठको आयोजना गरेको हो ।
ठेक्काबट्टा, दलिय असमझदारी र लोपलालचका कारणले पनि बन्न लागेका भौतिक संरचना समयमै निर्माण नहुँदा बर्षेनी करोडौ रुपैयाँ फ्रिज भएर जाँदा तुलसीपुरलाई घाटा हुने भएकाले यस तर्फ सजग हुनुपर्ने उनिहरुले बताए । गाउँघरमा विकासका काम सत्तापक्ष र प्रतिपक्षहुँदा हुँदा केहि समस्या भएको बताउँदै उनिहरुले कतिपय ठाउँमा वन र विद्युत पनि विकासको बाधक भएको टिप्पणी गरे ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटीको अवधारणा अनुसार भौतिक पूर्वाधारको विकास गर्नुपर्ने भएकाले सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । तुलसीपुरलाई स्मार्ट सिटी बनाउनका लागि नेपाल सरकारले सडक निर्माणका लागि मात्रै एक अरब बजेटको सूनिश्चितता गरेको भन्दै नगर प्रमुख पाण्डेले स्थानीय नागरिक, समुदाय, र राजनीतिक दल सबै हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार छविलाल वली, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य टोपेन्द्र केसी, नेपाली कांग्रेस संघिय क्षेत्र नं ३ का सभापति जगत खड्का, नेकपा माओवादीका युवा नेता खुशीराम चौधरी, तुलसीपुर नगरपालिका पूर्व नगर प्रमुख ढुण्डीराज लामीछाने, संवाद समूहका सहजकर्ता सुशील बस्नेत, तुलसीपुर प्राधिकरणका सदस्य मेघराज भुसाल, तुलसीपुर उपमहानगरपालिका १९ का वडाध्यक्ष रामबहादुर योगी, मेयरको सचिवालय सदस्य धर्मराज वली, होमराज डाँगी लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया