उद्योग बाणिज्य संघको चुनाव फागुन २९ गते, अध्यक्षमा दुई जनाको उमेदवारी

दाङ, १९ फागुन । सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई जनाको उमेदवारी परेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार दुबै प्यानलले आ-आफ्नो उम्मेदवारी दर्ता गरेका छन ।नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त समर्थनबाट कुमार बुढाथोकीले र माधव प्रचन्ड नेतृत्वको नेकपाको समर्थनबाट राजेन्द्र थापाले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त प्यानलबाट उम्मेदवारी पेश गरेका छन ।

माधव प्रचन्ड नेतृत्वको नेकपाबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भन्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, कोषाध्यक्षमा अशोक कुमार बोहोरा र सचिवमा बिकास डिसिले उम्मेदवारी दर्ता गरेका छन ।यसको साथै तीन जना महिला सदस्य, एक जना दलित सदस्य, एक जना जनजाती सदस्य, एक जना अल्पसंख्यक सदस्य, सात जना खुल्ला सदस्य र एक जना वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन ।

निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको । यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया