तुलसीपुर उद्योगबाणिज्य संघको टिकटका लागि दौडधुप

तुलसीपुर, १४ माघ । तुलसीपुर उद्योगवाणिज्य संघको निर्वाचन समय नजिकीदै गर्दा पार्टी भित्र उमेदवारी कसले पाउने भन्ने कुराको दौडधुप चलेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दा पनि टिकट पाउने विषय नेपाली कांग्रेस भित्र पेचिलो बनेको छ । बाणिज्य संघको वर्तमान नेतृत्व सर्वसहमत रुपमा नेतृत्व चयन गर्ने पक्षमा देखिएको छ । नितान्त व्यापारीक संगठन भएकाले पार्टीको हस्तक्षेप भन्दा पनि व्यवसायीक मुद्दामा कटीवद्ध हुने साझा उमेदवारको आवश्यकता रहेको बाणिज्य संघका अध्यक्ष विरु रावत विरुले जानकारी दिनुभयो । यद्यपी वर्तमान नेतृत्व पनि नेपाली कांग्रेस निकट नै हो ।

स्रोतका अनुसार वर्तमान नेतृत्व सकेसम्म केहि पदाधिकारी सहित सदस्यता लिएर यस पटक नेकपा निकट रामप्रसाद चालिसेलाई अध्यक्ष मानेर अघि जाने पक्षमा देखिएको छ । चालिसेलाई नेतृत्व दिदा अर्को पटक युवा व्यवसायीका रुपमा उदायका विनिल केसीलाई अध्यक्षका रुपमा अघि सार्ने र नेकपाले साथ दिनेमा वर्तमान नेतृत्व आशावादी देखिएको छ । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका चालिसे नेम्युनिष्ट पार्टी निकट भएपनि उनको संगत कांग्रेस निकट व्यक्तिसंग बढी भएको र नरम धारका भएकाले उनलाई सजीलोगरि आफूअनुकुल प्रयोग गर्न सकिनेमा केहि कांग्रेस तप्काको बुझाई छ ।

जसका कारण सहमतिय नेतृत्व चयनकालागि वर्तमान नेतृत्व र केही पूर्व अध्यक्षले हदैसम्म प्रयास गर्नेछन् । यदी यो प्रयास असफल भयो भने अनुप श्रेष्ठ (रामु)लाई अध्यक्षका रुपमा अघि सार्ने मनस्थितीमा वर्तमान नेतृत्व रहेको स्रोतको दाबी छ । तर कांग्रेस पार्टी भने कम्युनिष्ट नेतृत्वलाई कुनैपनि हालतमा स्वीकार गर्ने पक्षमा देखिदैन । जसका कारण निर्वाचन हुने लगभग निश्चीत जस्तै भएको छ ।

पछिल्लो घटनाक्रम र उठ्बसलाई हेर्दा टिकट पाउने बलियो सम्भावना भने जनक खरालको देखिएको छ । गेहन्द्र गिरीको प्यानल तुलसीपुर क्षेत्रमा बलियो भएकाले पहिलो प्रथामिकता जनक र दोस्रो प्रथामिकता हिमाल बस्नेतले पाउने छन् । हिमाल बस्नेत बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । बाणिज्य संघको नेतृत्व गर्न आकांक्षी मानिएका कांग्रेस निकट जनक खराल, हिमाल बस्नेत, ललितजंग शाह, पूर्णप्रसाद धिताल, झलक केसी र दहाल–नेपाल समूहका केही व्यवसायीहरु पनि आएको कांग्रेस नेता गेहेन्द्र गिरीले बताउनुभयो ।

आफुहरुले नेकपाको नेतृत्व स्वीकार नगर्ने तर आफ्नो नेतृत्वमा साथमा लिएर जान सकिने गिरीले बताउनुभयो । सकेसम्म पूर्व अध्यक्षहरुले नै सुझकासाथ नेतृत्व चयन गर्ने बताउँदै यदि सहमति हुन नसके पार्टीले योग्य उमेदवारलाई अघि सार्ने नेता गिरीले बताउनुभयो । बाहिर मिलेको जस्तो देखिएपनि तुलसीपुरमा दिपक गिरी र गेहेन्द्र गिरीको आन्तरिक लडाई बर्षौदेखि भएकाले दिपक प्यानलका सपना पुरा नहुनेमा कांग्रेसका पाका नेता बताउँछन् । यता स्थानीय तहदेखिनै सत्ताको बागडोर समहालेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पछिल्लो समय दुई समूहमा विभाजन भएपछि कांग्रेस भन्दा झनै चरम गुटमा पुगेको छ ।

केपी समूहले रामप्रसाद चालिसे खगेन्द्र पोखरेल र नारायण खनाललाई अघि सारेको छ भने दहाल–नेपाल समूहले रुपबहादुर खत्री, मिनराज भण्डारी, यज्ञ केसीलाई अघि सारेको छ ।  केहि समय अघि नेकपाको साझा उमेदवारको रुपमा एकजनालाई उठाउने भनएिपनि पछिल्लो समय दुवै समूहमा तिक्ता बढ्न थालेपछि त्यो सम्भावना पनि टरेको छ । तुलसीपुर उद्योग बाणिज्य संघको आगामी निर्वाचन फागुन १ गते हुँदै छ ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया