घोराही,२४ असार ।
नेकपा माओवादी केन्द्र दाङका नेताहरुले स्थानीय तह निर्वाचनमा जिल्लाका कम पालिकामा जित्नु प्राविधिकरुपमा हार भए पनि राजनीतिक जितेको बताएका छन् । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समितिले उपमहानगरभित्र जितेका जनप्रतिनिधिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
सो अवसरमा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले प्राविधिकरुपमा चुनाव हारे पनि राजनीतिक पहलकदमीका हिसाबले चुनाव जितेको बताउनुभयो । साथै उहाँले जीत हार जे भए पनि निरन्तर जनप्रतिनिधिको रुपमा खट्न सबै उम्मेदवारलाई निर्देशन दिनुभयो ।
एक सय वडा रहेको दाङमा ३३ वडामा प्रतिनिधित्व कायम गरेको र मतसंख्याका हिसाबले २३ प्रतिशत मत प्राप्त गरेको उहाँले बताउनुभयो । चुनाव परिचालन समिति घोराहीका संयोजक हेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपमहानगर अध्यक्ष विश्वराज आचार्यले गर्नुभएको थियो भने उपाध्यक्ष प्रमोद शर्माले स्वागत गर्नुभएको थियो ।