दाङ, १७ कात्तिक । प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङको आयोजनामा दाङको सिमानाका कोइलाबासमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । कुनै समयमा राप्तीकै प्रबेशद्वार र सबैभन्दा ठूलो बजार रहेको कोइलाबासमा उक्त परिवारले एतिहासिक रुपमै कविता गोष्ठी सम्पन्न गरेको हो ।
जिल्लाको सबैभन्दा अग्लो र उत्तरी सिमाना थर्कोटबाट सुरु गरेको ‘साहित्यिक जागरण अभियान’ जिल्लाको दक्षिणी सिमाना कोइलाबासमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै हिरामणि दुःखीले राप्तीको पुरानो बजार र एक समय देशकै दोस्रो ठूलो राजस्व सङ्कलन हुने भन्सार अड्डा भएको कोइलाबास यतिखेर खण्डहरमा परिणत हुनुमा नेपालको राज्यव्यवस्था जिम्मेवार रहेको बताउँदै अहिले बनेको दुईलेनको सडकबाटो तीस÷चालिस बर्स अगाडि सम्पन्न भएको भए आज कोइलाबास खण्डहर र जङ्गलमा परिणत नहुने बताए ।
कोइलाबासको महत्व दर्साउँदै ‘भारतको दशगाजा क्षेत्रमा रहेको कोइलाबासले एकातिर देशका लागि राजस्व सङ्कलन गर्ने भूमिका खेलेको थियो भने अर्कातर्फ सिमा सुरक्षाकवजको भूमिका पनि खेलेको थियो । पञ्चायतकालदेखि राज्यको कोपभाजनमा परेर सेलाएको कोइलाबासलाई पुनर्जागृत गर्ने काम बहुदलको आगमनदेखि हालसम्मका कुनै पनि सरकारले नगर्दा आज करिब मानब बस्तीहिन जस्तै बन्न पुगेको उनको भनाई छ ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत् रहेका दुःखीले इच्छुकको सन्दर्भ जोड्दै इच्छुकले कोइलाबासमा रहेको साल्ट ट्रेडिङमा जागिरे जीबन हुँदा यहाँबाट कम्युनिस्ट पार्टी निर्माणको अभियान सञ्चालन गरेको पनि चर्चा गरे । सोहि अवसरमा प्रलेस दाङका पूर्व अध्यक्ष कवि रामप्रसाद जैसीले बिगतमा कोइलाबास हरेक दृष्टिकोणले हराभरा रहेकोमा अहिले खण्डहरमा परिणत भएको देख्दा निकै दुःख लागेको बताए । उनले विगतमा त्यस क्षेत्रको बजारमा घोडा, राँगा र डोकाबाट ब्यापार गर्न आउने र भारतमा ज्याला मजदूरी गर्न गएका तथा पल्टनी लाहुरेहरुको आवतजावत बाक्लो हुने भएकाले कोइलाबासको रमझम र चहलपहल निकै हुने गरेको स्मरण गराए ।
त्यसैगरी पत्रकार निमबहादुर थापाले नेपालका पुराना नाकाहरुमा चौथो नाका भनेर चिनिने काइलाबास पहिले २४ सै घण्टा झलमल्ल रहेको आफैले देखेकोमा अहिले सुनसान भएको देख्दा दुःख लागेको बताए । उनले विगतका केलाउदै सटही काउन्टर, साल्ट ट्रेडिङ, प्रहरी चौकी, विद्यालय, विद्युत अफिस, खाद्यगोदाम, स्वास्थ्यचौकी जस्ता थुप्रै सरकारी कार्यालयहरु रहेको तथा निकासी र पैठारीका निम्ति राप्तीकै सबैभन्दा ठूलो ब्यापारिक केन्द्र रहेको चर्चा गरेको ईश्वरी प्रसाद गैरेले जानकारी दिएका छन् ।