
प्रस्तावीत राजधानी क्षेत्र
प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउन प्रदेश ५ मन्त्रीपरिषदले निर्णय संगै दाङको भालुवाङ सहित छिमेकी जिल्लामा खुसीयाली छाएको छ । पूर्वपश्चिम राजमार्ग दाङको भालुवाङलाई केन्द्र मानेर राजधानी बनाउने प्रस्ताव मन्त्री परिष्दबाट पारीत भएपछि प्रदेश नं.५ का पश्चिम क्षेत्रका सांसदहरु पनि उत्साहीत भएका छन् ।
राजधानी प्रस्ताव गरिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य इन्द्रजित थारुले मन्त्रीपरिषद्को प्रस्ताव सर्व सहमतिमा पारित हुने दावी गरे । उनले भने ,–। ‘धेरै छलफल पछि प्रस्ताव आएको छ, सबैलाई पायक पर्ने स्थानमा प्रस्ताव गरिएकोले भालुवाङ केन्द्र मानेर गरिएको राजधानीको प्रस्ताव सबैको सहमतिमा पारित हुन्छ ।’
यस्तै बर्दिया जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य दिपेश थारुले सरकारले प्रदेशको राजधानी राख्ने प्रस्ताव दाङ देउखुरीलाई प्रस्ताव गरेको प्रति खुसी व्यक्त गरे । उनले भने,–। ‘हामी पश्चिम क्षेत्रका सांसद र जनताको पायक पर्ने स्थानमा राजधानी हुनुपर्छ भन्ने माग थियो अहिले सोही अनुसार भएकोमा खुसी लागेको छ, म पहिचान पक्षको भएकाले पनि नामको हकमा मेरो फरक मत छ ।’
प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रस्ताव पेश गरेका थिए ।
प्रदेश नं. ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकरात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै, प्रदेशकै समस्या हल भएको बताए । उनले सबै जिल्लालाई समेटेर प्रदेशको समग्र विकासमा लाग्ने बताए । उनले भने,–। ‘राजधानीको प्रस्ताव ढिलै भएपनि दाङमा आएको छ यस्मा खुसी छौ, प्रदेशको नेतृत्व गर्नुभएका सबैलाई धन्यवाद दिन चाहान्छौ ।’
नेपाली काँग्रेस दाङका सभापती कृतिवहादुर खड्काले प्रदेश सरकारले दाङ राजधानीको लागि प्रस्ताव गरेमा खुसी व्यक्त गर्दै, राजधानी भयो भनेर हौसिने भन्दा प्रदेशवासी एक भएर लाग्नुपर्ने बताए ।
यस्तै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले दाङ केन्द्रविन्दु भएकै कारण राजधानीको लागि उपयुक्त भएको भन्दै विकासले प्रथामिकता पाउने बताए ।
स्थानीय स्तरमा पनि प्रदेश राजधानीको विषयमा सरकारले निर्णय गरेर संसदमा टेवुल भएकोमा दाङको राप्ती उद्योग बाणिज्य संघले स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवाद दिएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले सरकारले न्यायोचित निर्णय गरेको भन्दै खुसी व्यक्त गरे । उनले भने,–। ‘सरकारलाई धन्यवाद छ, संसदबाट पनि एकमतले राजधानीको प्रस्ताव पारित हुनेछ भन्ने आसामा छौ ।’