नेपालमा ‘क्लिन फिड’ का यस्ता छन् फाइदा

काठमाडौ, ७ असोज । सरकारले २०७४ साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । निर्णय लागू हुन नपाउँदै ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले निर्णय स्थगित गरेको थियो । भारतीय टेलिभिजन प्रसारकहरूको दबाव र नेपाली टेलिभिजन वितरकहरूले घोषणा गरेको आन्दोलनका कारण निर्णय स्थगित भएको थियो ।निर्वाचनपछि आएको नयाँ सरकार ऐनमै यो व्यवस्था गर्न अग्रसर भयो । टेलिभिजन सेवा वितरकहरू पुनः विरोधमा उत्रिए ।

संसदमा मधेश केन्द्रित दल राजपालगायतले विधेयक संशोधनमा लागि प्रयत्न गरे । अन्ततः संसदमा सरकारको प्रस्तावअनुसार नै विधेयक पास भएर ऐनका रूपमा लागू भयो ।नेपालमा २०० भन्दा बढी विदेशी च्यानल क्लिन फिडविना प्रसारण हुन्छन् । यसमा पनि हिन्दी भाषाका भारतीय च्यानलको प्रभुत्व छ । टेलिभिजन सेवा प्रदायकहरू असन्तुष्ट भए पनि नेपाली विज्ञापन व्यवसायी क्लिन फिड लागू हुनुपर्ने पक्षमा छन् । नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरूले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन नसकिरहेको उनीहरूको तर्क छ ।

क्लिन फिड लागू भए नेपालमा आफ्नो उत्पादनको बजार भएका विदेशी कम्पनीले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्ने अपेक्षा गरिएको छ । साथै, नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नुपर्दैन । यसबाट अहिलेको वार्षिक ६ अर्बको नेपाली विज्ञापन बजार तत्कालै ८ अर्बभन्दा माथि पुग्ने नेपाल विज्ञापन संघको आकलन छ ।नेपालको विज्ञापन बजार सानो छ । विज्ञापन व्यवसायीहरूका अनुसार विदेशी टीभी च्यानलहरूले यसलाई संकुचित बनाइदिएका छन् । विदेशी च्यानलमा निर्बाध रूपमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन बज्छन्, जुन सामग्रीका नेपालमा थुप्रै उपभोक्ता छन् ।

नेपालमा बजार प्रबर्द्धनका लागि उत्पादक कम्पनीले छुट्टै रकम खर्चिनु पर्दैन । यही कारणले नेपालमै रहेका बहुराष्ट्रिय कम्पनीहरूले नेपालका लागि विज्ञापनमा कम खर्च गरिरहेको विज्ञापन व्यवसायीको भनाइ छ । यसबाट नेपालको विज्ञापन व्यवसायलाई वार्षिक करोडौं नोक्सानी भइरहेको छ ।क्लिन फिड लागू भएपछि नेपालको विज्ञापन बजार अहिलेको भन्दा कम्तीमा दोब्बर बढ्ने आशा गरिएको छ । यसबाट सरकारको राजस्व पनि बढ्नेछ ।सञ्चार मन्त्रालयका अनुसार क्लिन फिड लागू भए विज्ञापन बनाउन स्वदेशको साधन र स्रोत प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ ।

यस्तै स्वदेशी कलाकार र सेलिब्रिटीहरूको माग बढ्छ, विदेशी कलाकारले लैजाने पैसा नेपाली कलाकारले पाउँछन्, विज्ञापनबाट मिडिया हाउसहरु स्वतः लाभान्वित हुन्छन् र मिडिया उद्योग पनि फस्टाउँछ भन्ने तर्क गरिएको छ । अहिले सरकारलाई वार्षिक ७ लाख तिरेर विदेशी च्यानलहरू विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शूल्कबाट विदेशी च्यानलहरूले नेपालमा अर्बौं मूल्यका विज्ञापन पनि देखाइरहेका छन् ।यसलाई रोक्न र नेपालको विज्ञापन बजारलाई व्यवस्थित एवं थप विस्तार गर्न क्लिन फिडको व्यवस्था प्रभावकारी हुने सरकारी अधिकारीहरूको भनाइ छ ।क्लिन फिड लागू भए नेपाललाई सांस्कृतिक रूपमा पनि फाइदा हुने नेपाल विज्ञापन संघको तर्क छ । क्लिन फिड लागू भएपछि विदेशी च्यानल हेर्नेको संख्या पनि घट्दा नेपालका टेलिभिजन बलियो हुने तर्क पनि उनीहरूको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया