बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।

कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।

नेपाल राष्ट्र बैंक र बंैक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ ।

प्रत्यक्ष रूपमा सर्वसाधारणको सम्पर्क नरहने नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएपछि गभर्नर महाप्रसाद अधिकारीसमेत होम आइसोलेसनमा बसिरहेका छन् ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एभरेस्ट, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बैंकका न्युरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटमा रहेका शाखा तथा एक्सटेन्सन काउन्टरमा कोरोना संक्रमित कर्मचारी भेटिएको छ ।

सानिमा बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । यस साता मात्रै नेपालगन्ज,  वीरगन्ज, विराटनगर, धनगढी, धादिङ, भैरहवा, हेटौंडा, लहानसहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकाभित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरूमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र त्रसित हुन थालेको छ ।

संक्रमण बढ्न थालेपछि अधिकांश बैंकले शाखा र एक्सटेन्सन काउन्टर बन्द गरी केन्द्रीय कार्यालयमा अत्यावश्यक कर्मचारी मात्र बोलाएर सेवा दिएको छ । अधिकांश कर्मचारीलाई बिदा दिइएको छ ।

हालसम्ममा एभरेस्ट बैंकको लाजिम्पाट शाखामा २, कपिलवस्तु र वीरगन्ज शाखाका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । यसैंगरी राष्ट्रिय वाणिज्य बैंकको दिपायल शाखा र भरतपुर शाखामा एकएक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

एसबीआइ बैंकको भैरहवा शाखाका १३ जना कर्मचारीमा एकैचोटि कोरोना संक्रमण पुष्टि भएको थियो । ग्लोबल आइएमई बैंकको लाहान, रोल्पा र धनगढीमा एक एक जना कर्मचारीलाई पनि कोरोना भएको पुष्टि भएको छ । प्रभु बैंकको सौराहा शाखामा पनि एक जनामा कोरोना देखिसकेको छ ।

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय पूरै बन्द गरिएको छ । यसैगरी सनराइज बैंकको गोंगबुस्थित एउटै शाखाका ६ जनामा कोरोना संक्रमण देखिएको थियो । नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथलीमा पनि एउटै शाखाका ६ जना कर्मचारीलाई कोरोना संक्रमित भएको थियो । एभरेस्ट बैंकको पनि मुख्य कार्यालयमै २ जनालाई कोरोना संक्रमण भएको छ ।

कृषि विकास बैंकको गुल्मी शाखा, लक्ष्मी बैंकको दाङ शाखा, नबिल बैंकको इटहरी शाखाका एकरएक जनामा र एनएमबी बैंकको बिर्तामोड शाखाका २ जनामा कोरोना पुष्टि भइसकेको छ ।

संक्रमण देखिएका र उनीहरूको सम्पर्कमा आएका कर्मचारीलाई विभिन्न होटलमा आइसोलेसनमा राखिएको छ । सुरुमा उपत्यकाबाहिरका शाखामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो । पछिल्ला दिनमा काठमाडौं उपत्यकाका शाखा र तीनका पनि मुख्य कार्यालयमा कार्यरत कर्मचारीमा संक्रमित हुने क्रम बढ्न थालेको छ । नेपाल बैंकर्स एसोसिएसनले संक्रमित कर्मचारीलाई उपचार गर्न अस्पताल र आइसोलेसनमा राख्न संघले सहजीकरण गरिरहेको छ ।

बैंकहरूले आफ्ना कर्मचारीहरूलाई मास्क, सेनिटाइजर तथा पन्जालगायतका सुरक्षा सामग्रीहरू उपलब्ध गराई वित्तीय सेवाहरू सावधानीपूर्वक प्रदान पनि गरिरहेका छन् । विभिन्न सावधानीका विधिहरू अवलम्बन गर्दै गर्दा पनि कुनै भवितव्य भई आएको खण्डलाई मनन गर्दै बिमा गरिएको हो । बैंकहरूले ग्राहकलाई पनि बैंकमा नआउन र इन्टरनेट बैंकिङ गर्न आग्रह गर्दै आएको छ ।

नगद नै चाहेको भए एटिएमबाट रकम निकाल्नुअघि र पछि स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ राजधानी दैनिकले खबर लेखेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया