काठमाडौं,१५ जेठ ।
सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलब स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था बजेटमा गरेको छ । व्यवस्थापिका संसदमा आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आव २०७४/७५ को बजेटमा मावि तहसम्मको शिक्षक तलबका साथै शिक्षण सामग्री, पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पनि स्थानीय तहमा हस्तान्तरण गरिने उल्लेख छ ।
विगतमा शिक्षाको अधिकांश बजेटको हिस्सा शिक्षक र कर्मचारीको तलबमा खर्च हुन्थ्यो । यही जेठ ११ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा मावि तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्ने उल्लेख थियो । नेपालको संविधानको अनुसूचीमा मावि तहसम्मको शिक्षाको सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।
हाल मावि तह भन्नाले कक्षा १२ सम्मलाई बुझाउनेछ । सरकारले कक्षा ११ र १२ को खर्च व्यवस्थापन आगामी वर्षमा केन्द्रीय बजेटमै राख्न खोजेको देखिन्छ । हालसम्म कक्षा ११ र १२ मा सरकारले स्थायी शिक्षक दरबन्दी नदिएको अवस्थाका कारण पनि कक्षा १० सम्मका लागि शिक्षक तलबको रकम हस्तान्तरण हुन लागेको हो ।