पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं , १६ असार / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको  निगमले जानकारी दिएको छ । गत २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।

बजारमा खपत नै नभएको भन्दै उच्च नाफा कमाउँदा पनि निगमले तेलको भाउ घटाएन । जेठको दोस्रो हप्ता पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा डिजेलमा पनि प्रतिलिटर २५ रुपैयाँ ६९ पैसा र मटितेल ५५ रुपैयाँ ३५ पैसा नाफा हुँदा पनि निगमले भाउ घटाउन चासो दिएन ।

खपत नभएकाले मूल्य समायोजन नएको तर्क गर्दै आएको निगमले नयाँ मूल्य सूची आउनुभन्दा एक दिनअघि नै गत जुन १६ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया