सुष्माको आर्तनाद कसले सुन्ने ?

युट्युबरले उनको एकोहोरो बद्नाम गरिरहेको छ । उनको प्रोफाइलबाट  छानिछानी पिक्चर सार्वजनिक गरिएको छ । आज भएजति दोष सबै उनको थाप्लोमा हालेर रमाइरहेका युट्युबरहरु सजायको भागिदार हुने कि नहुने ?

मन परेकी युवतीलाई लिनका लागि रातारात रुकुम उक्लिएका नवराज बिकसहितका केही युवा भेरीमा फ्याँकिए,मारिए । यो मानवतामाथिको नृशंस प्रहार हो । यसलाई जात,धर्म,लिंग र रंगका दृष्टिले हेर्ने प्रबृत्ति मानवीय छैन । अर्कातिर,नवराजहरु जो युवतीलाई लिएर फर्किने योजनाका साथ त्यहाँ पुगेका थिए, ती युवती आफ्ना बाबुआमासहित प्रहरी नियन्त्रणमा राखिएकी छन् ।

Advertisement

मृतकहरुप्रतिको सहानुभूति स्वाभाविक हो । किनभने, मानिसको ज्यान लिने तहको कसुर कदापि क्षम्य हुँदैन । चाहे उनीहरु जुनसुकै नाम, काम र शैलीमा रुकुम पुगेका किन नहुन्, ज्यान लिने तहका कसुरदार कडाभन्दा कडा सजायको भागिदार हुनैपर्छ ।

Advertisement

तर,यसो भनेर सुषमा मल्ल ठकुरीको मानवअधिकार शून्यमा झर्दैैन, झरेको छैन, झर्न दिनु हुँदैन । नवराजको मोबाइल भेरीमा डुब्यो । सुषमाको मोबाइल प्रहरीले राखेको छ । युट्युबरहरुले भ्युअर्स बढाउने नाममा सुषमाले ‘मलाई लिन हुल बाँधेर आऊ’ भनेको भन्दै एउटा अडियो भाइरल बनाएका छन् ।

Advertisement

न्युनतम् मानवीय मर्यादा पनि पालना नगर्ने ती युट्युबरहरुलाई जतिसुकै शव्दमा खेद व्यक्त गरे पनि अपुरो हुन्छ । किनभने, उनीहरु आफ्नो भ्युअर्स बढाउने र पैसा कमाउने नाममा यति अन्धो छन् कि, गर्न हुने र नहुने कुराको पनि ख्याल गर्दैनन् । एकातिर नवराज र उनका साथीहरुको शव जलिरहेको छ, अर्कातिर युट्युबरहरु शोकमग्न,बिमार बाबुको अन्तर्वार्ता लिइरहेका छन्  ।

अनि,जाजरकोटका पूर्वसांसद राजीवविक्रम शाहको तर्फबाट त्यहीबेला क्यामेरा सोझ्याइसोझ्याइ कसैले क्रिया खर्च पनि दिइराखेका छन् ।

एकातिर मृत्युको पीडासँग युट्युबरहरु आफ्नो कमाई धन्दा चलाइरहेका थिए, अर्कातिर भोटको राजनीतिले राजीवविक्रमजस्ता धनाढ्यलाई मानवीयता बिर्साइरहेको थियो ।

सुषमा अहिले थुनामा छिन् सञ्चार सम्पर्कबाट बिच्छेद अवस्थामा । आफ्नो विषयको पैरवी गर्नका लागि अदालती प्रक्रिया बन्द भएका कारण उनी समर्थ छैनन् । तर, युट्युबरले उनको एकोहोरो बद्नाम गरिरहेको छ । उनको प्रोफाइललगायत छानिछानी पिक्चर सार्वजनिक गरिएको छ ।

प्रश्न गम्भीर छ, अब उनको तर्फबाट कसले बचाव गर्छ ? उनलाई अप्ठेरो परेको बेला ती युट्युबरहरु बचाउन त आउँदैनन्, तर उनको इज्जत लिलाममा चढाइदिने हकमा पनि ती युट्युबर छैनन्, थिएनन् ।

मुख्य प्रश्न हो,भोलि अनुसन्धान प्रक्रियाबाट सुषमा निर्दोष ठहरिन् भने आज भएजति दोष सबै उनको थाप्लोमा हालेर रमाइरहेका युट्युबरहरु सजायको भागिदार हुने कि नहुने ?


एकातिर नवराज र उनका साथीहरुको शव जलिरहेको छ, अर्कातिर युट्युबरहरु शोकमग्न, बिमार बाबुको अन्तर्वार्ता लिइरहेका छन्  । 


    

अर्कातिर,सुषमा र नवराजबीचको संवाद भनी नक्कली अडियो आएको छ । बुटवलमा भेट्नेजस्ता अप्रासंगिक कुरा गरिएको छ । मुख्यतः त्यो आवाज रुकुम,जाजरकोटतिरका मान्छेको लवजमा छैन । सल्यान, जाजरकोट र रुकुमको लेघ्रो तानिने बोली मिल्छ,शैली नै अलग छ । मुगु, हुम्ला,जुम्लाको पनि अलग शैली छ ।

अर्कातिर,यस्तो अमानवीय घटना सर्वथा निन्दनीय हुन्छ । तर, यही घटनालाई लिएर दलितका नाममा अर्को राजनीति शुरु भएको छ । दलित भएका कारण बढी सजायँ कम वा बढी हुने होइन । कसुर जे हो, त्यस आधारमा कानुनले निर्धारण गरेको सजायँ दोषीले पाउनुपर्छ । दोषी पहिल्याउने काममा प्रशासनलाई सबैले सहयोग गर्नुपर्छ । र,कोही निर्दोषलाई यसमा मुछिएको,शंका गरिएको छ भने निर्दोषको न्यायनिम्ति पनि लड्नुपर्छ ।

तर,हौवाबाजीको शैलीमा घटना अगाडि बढाइएको छ । सुषमाको घर अनकन्टार जंगलको बीचमा छ । नवराजहरुलाई भेरीमा फ्याँक्ने र ज्यान जाने तहको कसुर गर्ने व्यक्तिको पहिचान हुनुपर्छ र कडा सजायँ हुनुपर्छ भनिरहँदा बेकसुरहरु यसमा पर्नुहुँदैन भन्ने कुरामा पनि उत्तिकै चनाखो हुनु जरुरी छ ।

अहिले जाजरकोटमा क्रियाशील पत्रकार भन्दा युट्युबरको भीड छ,छानबिन समितिले काम गर्न नपाउदै धढाधड फैसला सुनाइरहेको छ ! प्रश्न उठ्छ,असम्बन्धित मान्छेहरुले ज्योतिष,डक्टर र न्यायाधीश बन्ने अनि सक्कली पेशाकर्मीले चाहिँ हुलमुलमा किचिएर न्याय र सही सूचना मर्नुपर्ने कहिलेसम्म ?

जनआस्थाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *