शिवु खनाल
देउखुरी जेठ ८ / दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कर्यालयले सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण गरेको छ । बन्दको बेला वडाबाट राज्यले दिएको सेवा सुबिधा प्राप्त गर्दा स्थानीयहरू खुसी व्यक्त गरेका छन् ।
लकडाउनका कारण यति बेला विभिन्न बैंकमा अत्याधिक भिडभाड छ । उक्त भिडलाई मध्यनजर गरेर वृद्धहरुलाई सास्ती खेप्न नपरोस भन्ने उद्देश्यले वडाबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरेको लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताउनुभयो ।
आर्थिक वर्ष २०७६ सालको चैत्र तिर बाडिनु पर्ने सामाजिक सुरक्षा भत्ता देशमा कोरोना भाइरसका कारण ढिला हुन गएको छ । कोरोना भाइरसले देशनै आतंकित बनाएपछि सामाजिक सुरक्षा भत्ता बितरण गर्नमा अन्यौल भएको हो । कोरोना भाइरसका कारण धेरै जसो बैंक र वित्तिय संस्थाहरु बन्द भएका थिए ।
लमही नगरपालिकाका अन्य वडाहरुले पनि आफुहरुलाई पायक पर्ने बैंकहरु सङ सहकार्य गरेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेका छन् । वडा नम्बर सातले लमही स्थित साङग्रीला बैंकबाट सामाजिक सुरक्षा वितरण गर्दै आएको छ ।
‘बैंक जादा गाडीको समस्या, भिडभाड, लाइनमा बस्नु पर्ने जस्ता समस्या देखेर मैले बैंकलाई वडामै आएर रकम बाडिदिन आग्रह गरे, वडाध्यक्ष गिरीले भन्नुभयो,–। ‘कोरोना भाइरसले आम जनमनसमा त्रास फैली रहेको बेला वडाबासीलाई यो महामारीबाट जोगाउनु मेरो पहिलो दायित्व र कर्तब्य हो ।’
यो विपद्को बेला वडामै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु निवासी आइतराम बरालले खुसि व्यक्त गरेको बताउनुभयो । ‘हामी मास्तै खुसि छम । कमाएर खान सकिन्न । खेति गर्ने सकिन्छ । जस्तो सुकै बेला पनि सरकारले हेरेको छ हामीलाई, उहाँले भन्नुभयो ।