२०८३ कार्तिक ८ गते शनिवार

लकडाउनको पालना गर्ने कि कोरोना संक्रमित हुने ?

३ जेठ २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले लकडाउन गर्नुपर्ने सुझाव दिएपछि मन्त्री परिषदको बैठकले चैत्र ११ गतेदेखि नेपालमा पहिलो पटक लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गर्‍यो । यसको उद्देश्य थियो कोरोना भाइरसको संक्रमण फैलिन नदिनु । तेस्रो चरणको लकडाउनको समयावधी जेठ ५ गते सकिदैछ ।

लकडाउन भनेको के हो ? थाहा नपाएका र नाम समेत नसुनेका सर्वसाधारणहरुलाई यो लकडाउन भनेको के हो ? भन्ने प्रश्नले उत्तर खोजी रह्यो । सवारी साधन नचल्दा, सहरबजार बन्द हुँदा, मान्छे एक ठाउँबाट अर्को ठाउँ हिड्डुल गर्न नपाउँदा , प्रहरीले घरभित्रै बस्नुस् भन्दै सहरदेखि गाउँघर हिड्दा, रोगबाट बच्न मास्क, सेनिटाईजर प्रयोग गर्नुपर्छ भन्दै गर्दा नागरिकले बल्ल बुझे लकडाउन भनेको यस्तो रहेछ ।

जुन कुरा व्यवहारमा सकि नसकी लागु भयोे । गरिब दुःखीले पनि भईनभई साँझ बिहान कोरोनाबाट बच्न सावुनपानीले हात धुने गरे । बालकदेखि वृद्धसम्मले जानीनजानी मास्क लगाए । मान्छेहरु भित्रबाहिर गर्दा, अथवा गाउँघरमा तलमाथि गर्दा पनि मास्क लगाएर हिड्ने गरे । अस्पतालहरुले अत्यावश्यक सेवा वाह्यक सबै सेवा बन्द गरे । सडकहरु सुनसान बने ।

मानिसहरुले कोरोना सर्ने डरले सामाजिक दुरी राखेर (टाढै) बसेर एक आपसमा भेटघाट र गफगाफ गर्ने गरे । अधिकांस घरबाट बाहिर निस्किएनन् । अत्यावश्यक काम परेपछि मात्रै बाहिरिने गर्थे । स्थानीय वडादेखि पालिका सरकारले पनि गरिखाने बर्गलाई भोकै बस्न नपरोस भनेर हप्ता दिनदेखि दाल,चामल, नुन, तेल, मास्क, सावुन राहत बितरण गरे ।

पालिकाले पहिलो चरणको राहत वितरण गर्दासम्म नेपालमा नगन्य मात्रामा कोरोना संक्रमित फाट्फुट् देखियो ।  दोस्रो चरणको लकडाउनसम्म नागरिकले घरमै थपक्क बसेर लकडाउनको पालना गरे । रोजगारीका लागि बाहिर गएका घर फर्किनेहरु पनि सडकमा हिड्न नपाएपछि सर्वोच्च अदालतले आदेश दिनुपर्ने अवस्था आयो । हामीहरु यो अवस्थामा आउँदासम्म चीनबाट कोरोना स्पेन र ईटलीमा पुगेर उत्पात मचाई रहेको थियो ।

विश्वलाई कायल बनाएको कोरोनाबाट गरिब हाम्रो मुलुकमा लकडाउनको विकल्प नै थिएन । नेपालमा सहज स्थिति हुँदासम्म हामीले लगभग लकडाउनको पालन गर्यौ । जव कोरोनाको संक्रमण बढ्न थाल्यो त्यसपछि हाम्रा गतिविधिहरु बाक्लिन थाले । सवारी पासको दुरुपयोग हुन थाल्यो र सडकमा निजी सवारी साधनहरु हुँईकिन थाले । सहरबजार खुल्न थाले ।

लगाएको मास्क झिकेर फाल्यौं । सेनिटाईजर पनि हिजोआज त विर्सीन लाग्यौं । भेटघाट, घुमघाम बढ्न थाल्यो । सुरुमा हाउँगुजी लागेको कोरोना अहिले सामान्य जस्तै लागेको छ हामीलाई । किनकी आफुलाई नभेट्दासम्म यस्तै रहेछ भन्ने लागेको छ । रत हामीले पचाईसकेका छौ अहिले ।

त्यसैलेपनि हामीे लापवरवाही गरीरहेका छौ । कुनै पनि आपतविपत, बाजा बजाएर आउँदैन । नदेखिने यो प्राकृतिक माहामारी दाङमा शुक्रबारबाट भित्री सकेको छ । तुलसीपुर र गढवामा ३ जनामा कोरना संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ । ३६ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा देखिएकाे कोरोना पहिलो चरणको सामान्य रोग  भएकाले नेपालमा अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन् । विश्वमा कोरोना संक्रमितको संख्या ४५ लाख ३४ हजार पुगेको छ भने ३ लाख ७ हजार बढीले ज्यान गुमाई सकेका छन् । १६ लाख ३३ हजार निको भएर घर फर्किएका छन् ।  यस्तो भयावह अवस्थामा पनि यसलाई हामीले सामान्य रुपमा लिएका छौ ।

पछिल्लो समय कोरोनाको ठेक्का प्रहरीले लगेको जस्तो गरेका छौ । अब पनि हामीले हेलचेक्रयाँई गर्याै भने हामी यो रोगबाट अछुतो रहन सक्ने छैनौ । किनकी पछिल्लो समय कोरोना संक्रमितको वृद्धिदर नेपालमा तिब्र हुन थालेकोछ । यो माहामारीले बालक, युवा, वृद्ध, धनी, गरिब, सुटेटबुटेट केहि भन्दैन । रत नेपालमा सर्वसाधरणदेखि सुरक्षाकर्मी , पत्रकार , स्वास्थ्यकर्मी समेताई लाई भेटिसेको छ । यस्तो अवस्थामा अब हामी हाम्रो अमुल्य जीवनका रक्षाका लागि स्वम् हामी नै सजग रहन अवशयक छ ।

विश्वमा शक्तिशाली मानिएका देशहरु रोईरहेका छन् । किनकी नदेखिने यो रोग कसरी सर्छ ? कहाँबाट आउँछ थाहै हुदैन् । जसको उपचार गर्नका लागि औषधी समेत बनेको छैन । त्यसैले लकडाउनको विकल्प नै छैन । अर्कालाई धारे हात लगाएर पन्छिने बेला पनि छैन । चोकचोकमा बसेको प्रहरीले भनिदेला र घरमा गएर बसौंला भन्ने अवस्था छैन् ।  आफु पनि सुरक्षीत हुने अरुलाई पनि सुरक्षीत गराउने जिम्मा हाम्रो हो । त्यसैले आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

 
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।