२०८३ कार्तिक ८ गते शनिवार

नेकपाभित्रको विवाद : टाउकाको औषधि नाईटोमा !

१७ बैशाख २०७७ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी अहिले गम्भिर मोडमा छ । ७ दशक पुरानो नेपालको कम्युनिष्ट आन्दोलन, इतिहास विभिन्न आरोह र अवरोहले अगाडी बढीरहेको छ । विगत ७ दशकमा यस आन्दोलनले विभिन्न घुम्ती र मोडहरु, चूनौति र सम्भावनाहरु बोक्दै आएको छ ।  नेपालको कम्युनिष्ट पार्टीको इतिहास हेर्दा यस पार्टीमा विभिन्न काल खण्डमा गुट–उपगुट र पार्टी विभाजनको इतिहास पनि छ । अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको किचलो हेर्दा र विगतमा पनि कम्युनिष्ट पार्टीभित्र भएका अन्र्तरविरोधलाई हेर्दा सामान्यतः अहिले नेकपाभित्र भएको अन्तरविराेधलाई अनौठोका रुपमा लिन पनि सकिदैन । तर विगतमा भएका अन्तरविरोध, टुटफुट र अहिले देखिएको किचलो गुणात्मक रुपले फरक छ । विगतमा नेपाली कम्युनिष्ट आन्दोलनलाई  अगाडी बढाउन केकस्ता कार्यनीति र रणनीति लिने भन्ने विषय अन्तरविराेधका  प्रमुख कारक थिए ।नेताहरुमा हुने व्यक्तिगत ईगोले पनि विगतका टुटफुटमा कुनै प्रभाव पारेन भन्न नसके पनि मुलतः ति अन्तरविराेध   र टुटफुट सैद्धान्तिक बैचारीक थिए । आधादर्जन व्यक्तिहरुले स्थापित गरेको नेपालको कम्युनिष्ट आन्दोलन वृहत र व्यापक भएको छ । लाखौलाख नेपालीहरु यो आन्दोलनमा जोडीएका छन् । अहिले पनि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न धार भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सबै भन्दा बलियो धारका रुपमा स्थापित भएको छ । फलस्वरुप  गत संसदीय निर्वाचनमा यो पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको थियो । संसदीय व्यवस्था भित्र कम्युनिष्ट पार्टीको भूमिका र उसले पुरा गर्ने कार्यभारका सन्दर्भमा विश्व कम्युनिष्ट आन्दोलनमा तिब्र बहस र विवाद भएता पनि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीबाट धेरै आशा र विश्वास गरेको कुरा गत संसदीय मतदानले प्रष्ट पारेको छ । तर विगत अढाई बर्षलाई फर्खेर हेर्दा नेपाली जनताको त्यो आकांक्षा पुरा गर्न सरकार र पार्टी सफल नभइरहेको अवस्थामा नेकपा भित्र उत्पन्न नयाँ संकटले सरकार र पार्टी दुबैलाई अफठेरोमा पार्ने निश्चित छ । नेकपाभित्र देखिएको किचलो वैचारिक सैद्धान्तिक कार्यनीतिक रणनीति , जनताको जनजिवीकाको सवाल, कम्युनिष्ट आन्दोलनको भविष्य, भन्दा नेताहरुको शक्ती आर्जन गर्ने टक्राव हो भन्ने कुरा कसैले लुकाउन चाहेपनि लुकाउने अवस्था छैन । इतिहासबाट पहिलो पटक पाएको अवसरलाई कसरी सदुपयोग गर्ने, बामपन्थी नीति कार्यक्रम कसरी लागु गर्ने, उत्पिडीत जनताको आशा र आकांक्षालाई कसरी सम्बोधन गर्ने, कम्युनिष्ट आन्दोलनका सहिदहरुको आकांक्षा र सपनालाई कसरी सम्बोधन गर्ने, पार्टीभित्र देखिएको स्खलन, नैतिक चारित्रीक ह्रास, धनसम्पति प्रतिको मोह, कसरी कम गर्ने , लगाएत अहिले देखिएका यावत समस्या प्रति अहिलेको किचलोको कुनै प्रत्यक्ष अप्रत्यक्ष साइनो छैन । कम्युनिष्ट पार्टी भनेको आलोचनात्मक चेत सहितको जागृत पार्टी हो । स्टालिनले कम्युनिष्ट बन्ने प्रकृयालाई फलामबाट स्टीलमा रुपान्तरण हुने प्रकृयासंग दाँजनु भएकोे छ । यो कठिन प्रकृया हो । माक्सले साम्यवाद भनेको के होे भन्ने एक प्रश्नको जवाफ दिदै, साम्यवाद भनेको आफुविरुद्धकै सघर्ष भन्नु भएको छ । तर नेपालमा सत्तारुढ दल नेकपाले कम्युनिष्ट आन्दोलनका यी आदर्शहरुको लगातार अवहेलना गर्दै कम्युनीष्ट आन्दोलनका आदर्श, मूल्य, र निष्ठाहरुको बेवास्ता गरेको कारणले अहिले यो समस्या उब्जीएको हो । नेतालाई पुज्ने, नेताहरुले गुट बनाउने, कार्यकर्ताहरु गुटमा रमाउने, र आ–आफना स्वार्थहरु पुरा गर्ने संस्कार र संस्कृति हरेक पार्टीमा हुर्किदै गएपछि बैचारिक सैद्धान्तिक अन्तरविरोध कमजोर हुने, व्यक्तिहरु शक्ति र सत्ता आर्जनमा लाग्दा अन्तरविरोध तिब्र हुने राजनीतिक शास्त्रको सामान्य नियम हो । याे  नेपाली कांग्रेस, नेकपा, वा जुनसुकै दलमा पनि लागु हुन्छ । अहिले देखिएको नेकपाको टकराब नेताहरुको चरम महत्वाकांक्षा र शक्तीको टकराब हो । यो टक्करले भोली के रुप लिन्छ अहिले नै ठोकेर भन्न नसकेपनि अन्ततः यो भागबण्डा वा मोलमोलईमा अन्त्य पनि हुनसक्छ । वर्तमान संकटको कुनै हिसाबले पार भयो भनेपनि नेकपामा संकटको अन्त्य हुने छैन ।  फेरी पनि पार्टी भित्र घातप्रतिघात, व्यक्तित्वको टक्राव, षडयन्त्र प्रति षडयन्त्र, यो वा त्यो गुटसंग गठजोरको श्रृङखला भविष्यमा पनि रोकिने छैन । यसको समाधान भनेको कम्युनिष्ट आर्दश र मुल्यमा देखिएको स्खलनलाई रोक्नु हो । नेकपा भित्र टाउकोमा समस्या देखा परेको छ । तर  औषधीलाई नाईटोमा लगाउने अर्थात पद र शक्तीको बाँडफाँडमा सिमित गर्ने प्रयास गरिदै छ । यो गर्नु भनेको भविष्यमा फेरी अर्को यस्तै टकराब र भिडन्तलाई निरन्तरता दिनुहो ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।