किसानको पिडा– ‘गरिबको के लाग्ने रहेछ र ’

तुलसीपुर, १७ चैत्र

‘खोरमा गएर छोराले दुईसय कुखुरा मा¥यो । म त हेर्न पनि सकेन हिजोबाट उता पनि गएको छैन ।’ तुलसीपुर उपमहानगरापलिका–८ मालभुङ निबासी कुखुरा पालक किसान हेमा डाँगीले भक्कानिदै भनिन् ‘गरिबको त के लाग्ने रहेछ र ?’

कुखुरा तयारी नहुदासम्म दाना उपलब्ध गराउने र त्यसपछि सबै उठाउने सहमति गरेको सेवा फिड्स सप्लार्यस सम्पर्क विहिन भएपछि कुखुरा नष्ट गर्नुको विकल्प थिएन हेमालाई ।

‘४० दिनभित्र बेचिसक्नु पर्ने ब्रोईलर कुखुरा ४९ दिनसम्म पनि बिक्री भएनन् । भएको दाना पनि सकियो । दाना खान नपाएर डेढसय कुखुरा खोरमै मरे,’ हेमाले भनिन् –‘दाना दिने सप्लायर्सका संचालकले समेत फोन सूइचअफ गरेपछि मार्नु पर्ने बाध्यता भयो ।’

कुखुरालाई तयारी बनाउदासम्म हेमालाई करिब ढाईलाख लगानी लाग्यो । लाखौ आम्दानी गर्ने उद्देश्यले एकैपटक पाँचसय कुखुरा खोरमा हालेकी हेमालाई उल्टै अहिले ऋण लागेको छ ।   मासुका लागि तयारी अवस्थामा भएका कुखुरालाई थप दाना खुवाउन सक्ने अवस्थामा किसानहरु छैनन् ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण पश्चिम दाङमा सयौं कुखुरापालक किसानहरु हेमा जस्तै ठूलो आर्थिक संकटमा पर्ने निश्चित जस्तै भएको छ ।  लकडाउनकै कारण दाना र कुखुरा ओसारपसार तथा बिक्रीवितरण नभएपछि भयावह अवस्था आउने सम्भावना बढेको छ ।

२० लाख ब्रोईलर कुखुरा नष्ट हुने चेतावनी

यता तुलसीपुर कुखुरा व्यवसायी संघले सरकारले तत्तकाल कुनै व्यवस्थापन नगरे पश्चिम दाङमा करिब २० लाख ब्रोईलर कुखुरा नष्ट हुने चेतावनी दिएको छ । तुलसीपुर उपमहागनरपालिका, दंगीशरण र बबई गाउँपालिका क्षेत्रभित्र करिब १३ सय कुखुरापालक किसान रहेको तुलसीपुर कुखुरा व्यवसायी संघका अध्यक्ष तारा पौडेलले जानकारी दिए ।

एउटा किसानले औसतमा करिब १५ सय कुखुरा पालेको अध्यक्ष पौडेलको दाबी छ । व्यवसायीका अनुसार ४९ दिनका ७ लाख ५० हजार, ४२ दिनका ४ लाख, ३५ दिनका ५ लाख र २२ दिनका ३ लाख कुराख पश्चिम दाङमा किसानले पालेका छन् ।

कुखुरा सप्लायर्स होमबहादुर बस्नेतले विशेष प्याकेज बनाएर चरम आर्थिक संकटको अन्तिम क्षणमा पुगेका किसानको स्थानीय सरकारले उद्धार गर्नुपर्ने बताए । कुखुरा पालक किसानको पक्षमा तुलसीपुर उपहानगरपालिकाले तत्काल कुनै ठोस कदम नचाले धेरै किसानको जीवन नै तलमाथि हुन सक्ने बताए ।

किसानको समस्या प्रति हामी गम्भिर छौ

तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक माधब वलीले किसानको सम्भावित संकट टार्न पालिकाहरु लागि परेको बताएका छन् । ‘तयारी अवस्थामा रहेका कुखुराको जति पनि मासुलाई बुटवल, नारायणगढ लगेर कोल्ड स्टोरमा भण्डारण गर्न सकिने सम्भावना रहेछ ,’ संयोजक वलीले भने –‘ त्यसको बारेमा पनि पालिकास्तरमा छलफल चलाउने तयारी गरेका छौ ।’

मंगलबारदेखि तुलसीपुर क्षेत्रमा मासुपसल खोल्ने र सप्लायर्सले किसानलाई दाना सहजरुपमा उपलब्ध गराउने सहमति भएको बताउदै संयोजक वलीले यसबाट किसानका केहि हदसम्म माग पुरा हुने बताए । पश्चिम दाङमा उत्पादन भएको कुखुराले बुटवल, कोहोलपुर, सुर्खेत र पहाडी जिल्ला, सल्यान, रोल्पा तथा रुकुमको बजार धानेको छ ।

 

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया