भाडा नलिन घरधनीलाई चेम्बरको आग्रह

तुलसीपुर, १७ चैत्र

तुलसीपुर चेम्बर अफ कमर्सले लकडाउनको अवधिभर भाडा नलिन सम्पुर्ण घरधनीलाई आग्रह गरेको छ ।कमर्सका अध्यक्ष टोपबहादुर घर्ती र महासचिव प्रेमप्रकाश गिरीद्धारा जारी संयुक्त प्रेस विज्ञप्तीमा यस्तो आग्रह गरिएको हो ।

विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुनगई कुनै आर्थिक कारोबार समेत नभएकाले संकटको यस घडिमा घरभाडामा बसेकाहरुसंग भाडा नलिन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

‘संकटको यस घडिमा एकलाई अपठेरो पर्दा अर्कोले सहयोग गर्ने बेला हो,’ संयुक्त विज्ञप्तीमा भनिएको छ –‘ त्यसैले उदार मनका साथ लकडाउनको समयभरी आ–आफनो घरमा भाडामा बसेकाहरुसंग भाडा नलिन सबै घरधनीलाई आग्रह गर्दछौ ।’

यसैबिच तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष वेणु अधिकारीले लकडाउनको अवधिभर भाडा नलिने बताएकी छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया