रुखमा चढेर हेरे दर्शकले मेला

घोराही, १८ माघ

दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को नवौं दिन दर्शकहरुको अत्याधिक भीड लागेको छ । अत्याधिक दर्शकहरुको भिड लागेपछि महोत्सव सथल जान नपाएकाले रुखमा चढेर हेरका थिए ।

महोत्सवमा अहिलेसम्मकै सबैभन्दा बढी दर्शक शनिवार आएको चेम्वर अफ कमर्स दाङका कोषाध्यक्ष एवम् अर्थ समिति संयोजक विकास अग्रवालले जानकारी दिए । ‘जनसार धेरै भएपछि हामीले व्यवस्थापन गर्न निकै हम्मेहम्मे प¥यो,’ उनले भने, ‘करीब आधा घण्टा जति टिकट बिक्री रोकेर दर्शकहरुको व्यवस्थापन गर्नतर्फ लाग्यौं ।’

महोत्सवमा अत्याधिक दर्शक बढेपछि बैकल्पिक बाटोबाट बाहिरिने व्यवस्था समेत गरिएको थियो । ‘अहिलेसम्म जुन बाटोबाट दर्शकहरु महोत्सवको मञ्चसम्म जानुहुन्थ्यो, त्यहीँ बाटोबाट निस्कने व्यवस्था गरेका थियौं,’ चेम्वरका महासचिव टिकादत्त खनाल ‘सागर’ ले भने, ‘शनिवार भने हामीले बाहिरिदा धेरै भीड हुने देखेर अर्को बैकल्पिक बाटोको पनि व्यवस्था गरेका थियौं ।’

पछिल्ला दिनहरु दर्शकहरुको संख्या बढिरहेकाले आँफूहरु निकै उत्साहित भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताए । ‘महोत्सव हामीले सोँचेको भन्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुने देखिएको छ,’ उनले भने, ‘हाम्रो पहिलो अनुभव भए पनि महोत्सव निकै उत्साहपूर्वक सम्पन्न हुने देखिएको छ ।’

महोत्सवमा दुर्गेस थापाले गित गाउँदा युवाहरुले निकै हुटिङ गरेका थिए । बाल कलाकारहरु कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरीको घम्साघम्सीमा दर्शकहरु छमछमी नाचेका थिए ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया