कृषि औद्योगिक महोत्सवमा दर्शकको आकर्षण बढ्दै

घोराही, १३ माङ

दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को चौथो. दिनमा दर्शकहरुको आकर्षण बढिरहेको छ । तेस्रो दिनको तुलनामा चौंथो दिन सोमवार दर्शहरुको संख्या निकै बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक श्रीधर महराले जानकारी दिए ।

‘दिनप्रतिदिन महोत्सव प्रति दर्शकहरुको आकर्षण बढीरहेको छ,’ उनले भने , ‘आगामी दिनमा थप दर्शकहरुको आकर्षण बढ्ने हामीले अपेक्षा गरेका छौं ।’ महोत्सवमा तेस्रो दिन कलाकारहरु सन्दिप न्यौपाने र रुपा घर्ती मगरले दर्शकलाई जुरुक्कै उचाल्ने गरी दोहोरी गित प्रस्तुत गरेका थिए । ‘माया पानको पात, मायालुलाई सम्झन्छु दिनको रात’ भन्ने भाकामा न्यौपाने र घर्तीले गित गाउँमा चेम्वरका उपाध्यक्ष वलदेव योगी मञ्चमै पुगेरै छमछमी नाचेका थिए ।

दोहोरीको टुक्कामा योगीको नाम लिदै कलाकारहरुले घमसाघमसी गित गाए पछि दर्शकहरु छमछमी नाचेका थिए । मंगलवार राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रुपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरुले प्रस्तुति देखाउने छन् ।

महोत्सवमा कृषिका स्टलहरु हेर्नेहरुको संख्या बढी रहेको महासचिव टिकादत्त खनाल ‘सागर’ ले जानकारी दिए । कृषीले राखेको स्टलमा स्थानीय बदिया भाले बिक्रीका लागि राखिएको छ ।

अपेक्षा भन्दा राम्रो ढंगले महोत्सव सञ्चालन भइरहेको कोषाध्यक्ष विकास अग्रवालले जानकारी दिए । उनका अनुसार त्रिसिद्धिश्वरी यातायातले महोत्सवमा आउन चाहनेहरुलाई घोराही उपमहानगरपालिका आसपास क्षेत्रबाट भाडामा १५ प्रतिशत सहुलियतको व्यवस्था गरेको छ ।
महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन तथा उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने चेम्वर अफ कमर्सका सचिव एवम् प्रचारप्रसार समिति सचिव कुमारराज श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ माघ १३ गते सोमवार
प्रतिक्रिया