काठमाण्डौ, २५ साउन । सरकारले चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन, भदौ र अशोजमा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ ।
पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको हो । त्यस्तै, दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड ऋण उठाउनेछ । तेस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५४ अर्ब, विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ ऋण उठाइने सरकारको योजना छ ।





