काठमाण्डौ,२६ जेठ । चालू आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि वैशाखको अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । १० महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ४१ दशमलव २ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि एक महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन । राष्ट्र बैंकका अनुसार जेठसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको छ । गएको वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो । यस्तै १० महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ३५ हजार ५१० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ जना रहेको थियो । यस्तै विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति ३८ दशमलव ३ प्रतिशतले बढेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड थियो । यस्तै शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो । यस्तै वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति झन्डै दोब्बरले बढेर ५ दशमलव ०४ प्रतिशत पुगेको छ । गएको वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति २ दशमलव ७७ प्रतिशत रहेको थियो ।






