२०८३ जेष्ठ २६ गते मङ्गलवार

राजधानी छेउँमै ९ वर्षदेखि स्थानीयवासी विद्युत् पर्खाइमा

भालुवाङ २६ जेठ । दाङको राप्ती गाउँपालिका–३ स्थित लुम्बिनी प्रदेश प्रशासनिक भवनको उत्तरतर्फ रहेको नयाँबस्तीका स्थानीयवासी नौ वर्षदेखि विद्युत् विस्तारको पर्खाइमा बसेका छन् । बस्तीमा विद्युत् लाइन विस्तारका लागि करिब १२÷१३ वटा पोल गाडिए पनि हालसम्म पोलमा तार तान्ने काम नभएपछि स्थानीयहरू समस्यामा परेका छन्। बस्तीका करिब १२ घरधुरीले लामो समयदेखि विद्युत् सेवाको माग गर्दै आएका छन्। तत्कालीन वडा अध्यक्ष चन्दर चौधरीको कार्यकालमा वडाकै पहलमा विद्युत् विस्तारका लागि पोल गाडिएको थियो।

त्यसबेला विद्युत् जडान गरिने आश्वासन दिइए पनि कार्यकाल सकिँदासम्म काम सम्पन्न हुन सकेन। स्थानीय नागरिक अगुवा दलबहादुर घर्तीमगरका अनुसार हाल बस्तीका केही घरमा करिब ६/७ सय मिटर टाढाबाट अस्थायी रूपमा लाइन तानेर विद्युत् प्रयोग गरिँदै आएका छन् । तर लामो दूरीबाट जडान गरिएको लाइनका कारण तार चुडिने, भुइँमा झर्ने तथा करेन्ट लाग्ने जोखिम बढ्दै गएको छ।

“पोल गाडेको नौ वर्ष भयो, तर अहिलेसम्म लाइन विस्तार हुन सकेको छैन। धेरै टाढाबाट तार तानेर बिजुली बाल्नुपरेको छ। हावाहुरी लाग्दा तार चुडिने, करेन्ट चुहिने र दुर्घटनाको डर सधैं रहन्छ,” घर्तीले गुनासो गर्नुभयो । स्थानीयवासीहरूका अनुसार पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइए पनि समस्या समाधान हुन सकेको छैन। हालका वडा अध्यक्ष उमेश अधिकारीले पनि विभिन्न समयमा पहल भइरहेको भन्दै आश्वासन दिँदै आए पनि कामले पूर्णता पाउन नसकेको उहाँहरूको भनाइ छ।

यता राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीले भने चालु आर्थिक वर्षमा विद्युत् विस्तारका लागि वडाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ । उहाँले नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक स्टिमेट तयार नभएकाले काममा ढिलाइ भएको बताउनुभयो । “वडाले चालु आर्थिक वर्षका लागि ३ लाख बजेटको व्यवस्था गरिसकेको छ। तर विद्युत् प्राधिकरणले स्टिमेट नगरेको र उपभोक्ताबाट प्रत्यक्ष रूपमा काम गराउन नमिल्ने कानुनी व्यवस्था भएकाले प्रक्रिया केही ढिलो भएको हो,” अध्यक्ष अधिकारीले भन्नुभयो ।

उहाँले स्थानीयवासीलाई चिन्ता नगर्न आग्रह गर्दै अब समस्या समाधानको चरणमा पुगेको दाबी गर्नुभयो । “प्राधिकरणसँग आवश्यक समन्वय भइसकेको छ। एक साताभित्र काम अगाडि बढ्नेछ र स्थानीयले विद्युत् विस्तारको प्रत्यक्ष अनुभूति गर्न पाउनेछन्,” उहाँले भन्नुभयो । वर्षौंदेखि विद्युत् सेवाको भरपर्दो पहुँचबाट वञ्चित बनेका नयाँबस्तीका स्थानीयवासीले भने यसपटकको आश्वासन व्यवहारमा परिणत हुने अपेक्षा गरेका छन्। उनीहरू सुरक्षित र व्यवस्थित विद्युत् सेवा उपलब्ध गराई दैनिक जीवन सहज बनाइदिन सम्बन्धित निकायसँग माग गरिरहेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार
प्रतिक्रिया