२०८३ जेष्ठ १७ गते आइतवार

तुलसीपुरमा पाँचवर्षे विकास खाकामाथि बृहत् छलफल

तुलसीपुर, १७ जेठ ।  दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/०८८ सम्मका लागि तयार गरिएको दोस्रो आवधिक विकास योजना (पञ्चवर्षीय योजना) को मस्यौदामाथि बृहत् छलफल गरेको छ । उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विषयगत समितिका पदाधिकारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख टिकाराम खड्काले आगामी आर्थिक वर्षमा नगरका गौरवका योजनाहरूलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, औद्योगिक ग्राम स्थापना, आधुनिक बधशाला निर्माण लगायतका दीर्घकालीन विकासका योजनाहरूलाई आवधिक योजनामा समेटेर प्रभावकारी कार्यान्वयन गरिने जानकारी दिनुभयो । नगरप्रमुख खड्काले विकास योजनाहरूलाई जनताको आवश्यकता र स्थानीय सम्भावनासँग जोडेर अघि बढाइने उल्लेख गर्दै योजनाको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष नहकुल केसीले कुनै पनि विकास योजना सफल बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो । उहाँले योजना निर्माण मात्र नभई त्यसको कार्यान्वयन, अनुगमन र मूल्यांकनमा समेत सबै तहको जिम्मेवारीपूर्ण भूमिका हुनुपर्ने धारणा राख्नुभयो । उपप्रमुख श्यानी चौधरीले योजनाहरू कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न कर्मचारीतन्त्रले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासका लक्ष्य हासिल गर्न जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर का विज्ञ डा. गोकर्ण ज्ञवालीले स्थानीय सरकारले तयार गर्ने पञ्चवर्षीय योजनाहरू विकास निर्माणका मार्गदर्शक दस्तावेज भएकाले यस्ता योजनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले योजनाले स्थानीय तहको दीर्घकालीन विकासको दिशा निर्धारण गर्ने भएकाले यथार्थपरक र कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पाँर्धेले आवधिक योजना निर्माणले संस्थागत कार्यसञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले आर्थिक मितव्ययिता, पारदर्शिता तथा सुशासन प्रवर्द्धनमा समेत यस्तो योजनाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उपमहानगरपालिकाले इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर सँगको सहकार्यमा तयार गरेको दोस्रो आवधिक योजनामा आर्थिक विकास, पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, विपद् व्यवस्थापन र सामाजिक विकास गरी पाँचवटा विषयगत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी योजनाको मस्यौदामाथि छुट्टाछुट्टै छलफल गराइएको थियो । छलफलबाट प्राप्त सुझावहरूलाई समेटेर योजनालाई थप परिमार्जन तथा परिष्कृत गरिने जनाइएको छ । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रमा खड्काले गर्नुभएको थियो । सहभागीहरूले तुलसीपुरको दिगो, समावेशी र व्यवस्थित विकासका लागि आवधिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १७ गते आइतवार
प्रतिक्रिया