२०८३ जेष्ठ १० गते आइतवार

तुलसीपुरमा पार्किङ गरेको बस जलेर खरानी, अन्य ३ वटामा आंशिक क्षेति

तुलसीपुर, १० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा पार्किङ गरेर राखिएको बसमा शनिबार साँझ एक्कासी आगलागी हुँदा एउटा बसपूर्ण रूपमा जलेर नष्ट भएको छ । त्यसैगरी अन्य ३ वटा बसमा पनि क्षेति पुगेको छ । साँझ पौने ८ बजे एक्कासी आगलागि भएपछि रा१ख ३०३८ नम्बरको बस पूर्ण रुपमा जलेर नष्ट भएको छ भने प्र३–०१–००६ख०९७७, रा१ख २९५१ र रा१ख २७७ नम्बरको बसमा पनि आंशिक क्षेति पुगेको छ ।

पूर्णरुपमा जलेको बसलाई शनिबार दिउँसो करिब ४ बजे सनसाइन वासिङ पार्किङमा, पार्किङ गरेर राखिएको थियो । केही समय यतादेखि उक्त बस तुलसीपुरदेखि भारतको सिमला संचालन हुँदै आइरहेको थियो । त्यसैगरी ब्लू स्काई बसको एक छेउँको भागमा अलि धेरै क्षेति पुगेको छ । घर भन्दा सुरक्षित मानिएको पार्किङ स्थलमा गाडी जलेपछि आफू आश्चर्य चकित धनी दुर्गा डाँगीले बताउनुभयो । आगामी दिनमा थप क्षेति हुननदिनका लागि पार्किङ संचालकले सावधानी अपनाउनु पर्ने र स्थानीय सरकारले पनि दमकलको व्यववस्था गर्नुपर्ने डाँगीको सुझाव छ ।

यता पाकिङ संचालक छबि बस्नेतले बसमा एक्कासी आगो लागेको मात्र स्टाफले देखेको बताउनुभयो । आगो देख्नेबित्तीकै प्रहरीलाई खबर गरेको र छेउँमा रहेका बसलाई अनेत्र सारेर क्षेति हुनबाट जोगाएको संचालक बस्नेतले बताउनुभयो । बसमा आगो लागिरहँदा त्यहाँ करिब एक सय हाराहारीमा बसहरु पार्किङमा थिए । त्यहाँ पार्किङ गरे वापत दैनिक एक सय र मासिक एक हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।

आंसिक क्षेति पुगेका बसहरु

के भन्छ प्रहरी ?
यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । शनिबार साँझ करिब सवा आठ बजे खबर पाएको बताउँदै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होम बहादुर पराजुलीले विभिन्न एङ्गलबाट घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो । सिसी क्यामरामा हेर्दा विद्युत लाइन नभएको समयमा बसमा आगो लागेको छ । विद्युत नभएपछि सिसीक्यमरा चल्ने कुरै भएन । लाइन आउँदा बस आधा जलीसकेको  थियो ।’ डिएसपी पराजुलीले भन्नुभयो ।

तुलसीपुरका पार्किङ स्थलहरु जोखिममा रहेको बताउँदै करोडौको गाडीहरु पार्किङ गर्ने स्थानमा विपतजन्य तयारी गर्न आवशयक रहेको उहाँले बताउनुभयो । ‘तुलसीपुरका पार्किङ स्थलहरुमा करोडौको गाडीहरु पार्किङ गरिएको छ । तर भैपरि आउने आगलागिजन्य घटनाबाट जोगाउन आगो नियन्त्रण उपकरणहरु, डिबबोरीङ वा पानी पोखरीको व्यवस्था गरिएको पाइएन । अर्को तर्फ स्थानीय सरकारसंग भएको दमकल जलेको र अर्को व्यवस्था नभएकाले समस्या भयो ।’ डिएसपी पराजुलीले भन्नुभयो ।

के भन्छ तुलसीपुुर उपमहानगरपालिका ?
यता तुलसीपुर उपमहानगरपालिकाले दमकल खरिदका लागि सार्वजनिक सूचना प्रकाशित गरेपनि आवेदन नपरेका कारण खरिद गर्न नसकिएको बताएको छ । तुलसीपुर उपमहानगरपालिकाले इ–बिडिङ मार्फत बोलपत्र आव्हानको सूचना पहिलो पटक मिति २०८२ माघ ३० गते प्रकाशित गरेको तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले बताउनुभयो । सार्वजनिक खरिद ऐन अनुसार टेण्डर गर्यौ तर रितपूर्वक निवेदन परेन । फेरि राय लिएर पुनः रि–टेण्डरको तयारी गरेका छौ ।’ पार्धेले भन्नुभयो ।

यता मेयर टिकाराम खडकालाई स्थानीय सरकारको प्रमुख भएर पनि किन दमकलको व्यवस्था गर्न नसकेको ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘पालिकामा दमकल र गाडीहरु जेन्जी आन्दोलनका नाममा जलाइयो । खरिदका लागि सूचना प्रकाशित गर्दा सम्पर्कमा कोही आउँदैनन् । अनि हामीलाई अहिले गाली गरेर हुन्छ ?’

बाहिरबाट प्रश्न सोधेको जस्तो सजिलो काम नभएको बताउँदै मेयर खडकाले कानुनी प्रकृया अनुसार काम गर्न निकै कठिन र चुनौति भएको बतउनुभयो । ‘टेण्डर आव्हान गर्दा एउटाको मात्र निवेदन पर्छ । खरिद ऐनले प्रतिस्पर्धा गर्नुपर्ने भन्छ । जसको परेको छ उसलाई दिउँ भन्ने हो भने मिलोमतोमा भ्रष्टाचार भयो भनेर अख्तियारले समाउँछ । यो सार्वजनिक सम्पती हो नि । घरको कुरा त होइन नि मन लागेको गर्ने ।’ मेयर खडकाले भन्नुभयो ।

सनसाइन पार्किङ स्थल रहेका बसहरु

 

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया