२०८३ जेष्ठ ७ गते बिहिवार

उत्पादनमा आत्मनिर्भर नभएसम्म नेपालीले समस्या झेलिरहनुपर्छ: मेयर खड्का

तुलसीपुर, ६ जेठ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले नेपाल उत्पादनमा आत्मनिर्भर हुन नसक्दा नेपाली नागरिकले पटक–पटक अभाव र महँगीको समस्या भोग्नुपरेको बताउनुभएको छ । तुलसीपुरमा आयोजित नव उद्यम प्रवद्र्धन सम्बन्धी एकदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मेयर खड्काले केही दिनअघि भारतबाट आयात हुने विषादीयुक्त केरामा रोक लगाइँदा नेपालमा केराको मूल्य प्रतिदर्जन चार सय रुपैयाँसम्म पुगेको उदाहरण दिँदै उत्पादन वृद्धि अपरिहार्य भएको बताउनुभयो ।

“भारतबाट आउने केरा रोकिएपछि बजारमा अभाव सिर्जना भयो । हाम्रो आफ्नै उत्पादन पर्याप्त रहेनछ भन्ने स्पष्ट देखियो । वस्तुको अभाव हुँदा मूल्य स्वतः महँगो हुने रहेछ,” उहाँले भन्नुभयो, “नेपाललाई आत्मनिर्भर बनाउन हरेक नागरिक उत्पादनसँग जोडिनुको विकल्प छैन ।” मेयर खड्काले अरूले गरेको कामको नक्कल मात्र गर्ने प्रवृत्तिबाट माथि उठेर नवीन र सिर्जनात्मक उद्यमतर्फ अग्रसर हुन युवाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले नागरिकहरू प्रायः सडक, कुलो, नाला, कल्भर्टजस्ता भौतिक पूर्वाधारका माग लिएर आउने गरेको उल्लेख गर्दै आर्थिक समृद्धिका लागि उद्यमशीलता आवश्यक रहेको बताउनुभयो । “विकासका पूर्वाधार पनि चाहिन्छन्, तर आर्थिक रूपमा बलियो बन्न कुनै न कुनै व्यवसाय वा उद्यममा जोडिनैपर्छ । उद्यमका सम्भावनाबारे गम्भीर छलफल गरौँ, स्थानीय सरकारले आवश्यक सहयोग गर्न तयार छ । अब तपाईँहरूको इच्छाशक्ति चाहिन्छ,” उहाँले भन्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, महासंघका उपाध्यक्ष टिकाजंग वलीलगायतले उद्यम विकास र युवाको सहभागिताको महत्वबारे धारणा राख्नु भएको थियो ।

नवउद्यमीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा ग्रिन फाउण्डेसन नेपालका सहजकर्ता सुरेश रावतले उद्यम सञ्चालन, व्यवस्थापन, चुनौती र सम्भावना र तुलसीपुर उपमहानगरपालिकाका आइटी इन्जिनियर सविन केसीले डिजिटल मार्केटिङ, लोकेशन ट्र्याकिङ, त्यसका फाइदा तथा जोखिमबारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा करिब ७२ जना नवउद्यमीको सहभागिता रहेको महासंघका महासचिव भद्रबहादुर वलीले जानकारी दिनुभयो । महासंघले स्थापनाकालदेखि उद्यमीहरूको पहिचान, क्षमता अभिवृद्धि, युवालाई उद्यमशीलतामा जोड्न सीपमूलक तालिम, बजार प्रवद्र्धन तथा नीति तथा बहसका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ग्रिन फाउण्डेसन नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघको संयुक्त आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया