२०८३ बैशाख ३० गते बुधवार

तुलसीपुरमा ९ किलोमिटर सडक कालोपत्रे

तुलसीपुर, ३० बैशाख ।  दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्म भौतिक पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । उपमहानगरले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सडक कालोपत्रे, नाला निर्माण, पर्खाल निर्माणलगायतका विकास निर्माणका काम तीव्र रुपमा अघि बढाइएको छ । विवरणअनुसार हालसम्म ९ हजार ३०५ दशमलव ६६ मिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै ६ हजार ३११ दशमलव ५ मिटर नाला निर्माण सम्पन्न भएको छ भने १ हजार ४५१ दशमलव ६६ मिटर कालोपत्रे सडक मर्मत गरिएको योजना शाखा प्रमुख रमा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपमहानगरले आरसिसी निर्माणतर्फ ३१८ दशमलव ४ मिटर काम सम्पन्न गरेको छ भने ३४ मिटर जिआई रेलिङ निर्माण गरिएको छ । यसैगरी २ वटा कल्भर्ट निर्माण, १ हजार १३ दशमलव ५ वर्गमिटर टायलिन जाली बिछ्याउने कार्य तथा ६४९ दशमलव २२ वर्गमिटर ब्लक बिछ्याउने काम सम्पन्न भएको तथ्यांकमा उल्लेख छ । यसका साथै ४ वटा गेट निर्माण, ११९ दशमलव ८ मिटर पर्खाल निर्माण, १ वटा शवदाह स्थल तथा १ वटा मन्दिर निर्माणको काम पनि सम्पन्न गरिएको उपमहानगरपालिकाले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार
प्रतिक्रिया