काठमाडौ, २४ बैशाख । नेपालको ए टोलीले एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले हराएको छ । नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४८ ओभर २ बलमा २३२ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका फिनले म्याकक्रेथले ५२ रन बनाउनुभयो ।
नेपालका रशिद खानले ३ तथा युवराज खत्री, बसिर अहमद र शाहब आलमले २/२ विकेट लिनुभयो । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनायो ।आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ए ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । नेपाल ए ले स्कटल्यान्ड र अमेरिकासँग २र२ वटा अभ्यास खेल खेल्नेछ ।
नेपाल ए ले शृङ्खलाको दोस्रो खेलमा भोलि अमेरिकासँग, पर्सि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ । आउँदो वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।


















