तुलसीपुर, ११ वैशाख । दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। बिहीबार खेलकुद विकास समितिको कार्यालय बेलझुण्डीमा कार्यक्रम आयोजना गरी पदभार ग्रहण गर्नुभएको हो। लुम्बिनी खेलकुद विकास परिषद्ले श्रेष्ठलाई बुधबार दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो। खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता एवं खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुकुम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष विवेक श्रेष्ठले जिल्लाका दश वटै पालिकासँग समन्वय, सहकार्यमा व्यापक रूपमा खेलाडी उत्पादन गर्ने बताउनुभयो। उहाँले खेल क्षेत्रको विकासका लागि खेल प्रशिक्षकहरूको समन्वयमा अघि बढ्ने बताउनुभयो। अध्यक्ष श्रेष्ठले खेल क्षेत्रको भौतिक पूर्वाधार विकासमा समेत जोड दिने बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुकुम बस्नेतले दाङ जिल्लालाई खेल क्षेत्रको हब बनाउनका लागि यहाँका खेल प्रशिक्षक, खेलाडीहरूको सहयोग लिएर अघि बढ्न सुझाव दिनुभयो। दाङ जिल्ला खेलकुद पत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले खेल क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार विकासका साथै खेलाडीहरूलाई प्रशिक्षणको जरुरी रहेको बताउनुभयो।


















