तुलसीपुर, ११ फागुन । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति आउन अब ९ दिन मात्र बाँकी रहँदा शहरदेखि गाउँसम्म चुनावी माहोल तातिएको देखिन्छ। निर्वाचनको मिति नजिकिँदै जाँदामा उमेदवारहरुले चुनावी गतिविधि तीव्र बनाएका छन् ।
उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर भोट माग्नेदेखि चुनावी सभालाई सम्बोधन गर्नेसम्मका कार्यक्रममा व्यस्त छन्। पुराना दल, नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरू मतदाताको समर्थन आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन्।उम्मेदवारहरु घरघरमा पुगेर मतदाताको मन जित्ने रणनितिमा छन् ।
तर शहरी र ग्रामीण क्षेत्रमा चुनावी माहोल फरक देखीन्छ । शहर क्षेत्रमा उमेदवारहरुको चहलपहल र भिडभाड देखीन्छ भने ग्रामिण क्षेत्रमा यसको प्रभाव कम देखीएको छ । त्यति मात्र होईन शहर र ग्रामिण क्षेत्रका मतदाताको सोचमा समेत भिन्नता देखिएको छ । मतदाताका अनुसार शहरी क्षेत्रमा नयाँ दलप्रति आकर्षण बढ्दो छ भने ग्रामीण क्षेत्रमा पुराना दलप्रति विश्वास अझै बलियो रहेको छ ।
तुलसीपुर–४ का केही मतदाताहरूले नयाँ भन्दा पुराना दलहरूले समाजमा उल्लेखनीय योगदान पु¥याएको बताएका छन्। उनीहरूका अनुसार पुराना दलहरू स्थानीय विकास र सामाजिक कार्यमा सक्रिय हुदै सधै जनता संगै रहेकाले मतदाताको भरोसा कायम छ।स्थानीय कमल सेन भन्नुहुन्छ, “नयाँ उम्मेदवार कहाँका हुन्, हामी चिन्दैनौँ। चिनेजानेका स्थानीय उम्मेदवारलाई जिताउनु उचित हुन्छ।”
उहाका अनुसार ग्रामीण क्षेत्रमा नयाँ दलको चर्चा खासै छैन ।मतदाताहरूले नचिनेका उम्मेदवारलाई भोट दिँदा पछि समस्या पर्दा सहयोग नपाइने चिन्ता व्यक्त गरेका छन्। “चिनेकालाई जिताएपछि अप्ठ्यारो पर्दा काम गराउन सजिलो हुन्छ,” उनीहरूको भनाइ छ।यस्तै लोकमान खड्काको भनाई पनि उस्तै छ ।
भोली केहि समस्या पर्दा चाहिने भनेकै गाउँघरकै मान्छे हो उहाले भन्नुभयो,अहिले चुनावका बेला मात्रै भोट माग्न आउने उमेदवारको कुनै भरोसा छैन ।मतदाताले यसले हल्लाको भरमा भन्दा पनि विवेक प्रयोग गरेर मतको सदुपयोग गर्नुपर्ने उहाले बताउनु भयो ।चुनावको समयमा मात्र देखिने नेताप्रति विश्वास गर्न कठिन हुने अधिकांस मतदाताहरू बताउँछन्। उनीहरूका अनुसार जनप्रतिनिधि सधैँ जनताको सुखदुःखमा साथ दिने खालको हुनुपर्दछ ।
मतदाताहरूले विगतमा विकास निर्माण र जनहितका काम गरेका उम्मेदवारलाई पुनः समर्थन गर्ने बताएका छन्। साथै उनीहरुले नयाँ र पुराना भन्नु भन्दा पनि नेताहरुले बरु आफना कमजोरीलाई सच्याउदै अगाडी बढ्नपर्ने सुझाव दिएका छन् ।












