तुलसीपुर, ९ फागुन । सल्यानमा भेरी नदीमा हाम फालेकी एक युवतीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडा स्थित भेरी नदी माथि रहेको पक्की पुलबाट दाङको तुलसीपुर उपमहानगरपालिका –६ वरुवा गाउँ निवासी २१ वर्षीया पुष्पा सिंहले शुक्रबार दिउँसो करिब १२ बजे नदीमा हाम फालेको प्रहरीले बताएको छ ।
प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो । स्थानीय र प्रहरीबाट खोजी कार्य सम्भव नभएपछि गोताखरबाट खोज्ने तयारी गरिएको प्रहरीले बताएको छ ।
‘पुष्पा र उनका श्रीमान ३० वर्षीय त्रीदेव मल्ल दाङको तुलसीपुर घर पर्खिदै थिए । पुल पार गर्ने क्रममा श्रीमतीले व्याग समात्न दिइन । लगत्तै पुलबाट नदीमा हाम फालिन् भनेर उनका श्रीमानले भन्छन् ।’ डिएसपी केसीले भन्नुभयो । डेढ महिना अघि विहे पुष्पा र त्रीदेव केही दिनअघि मात्र बनगाड कुपिण्डे नगरपालिका–६ सुनौलीमा रहेको माइतीको घरमा गएका थिए । पुष्पाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
निज पुष्पाका श्रीमानले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय देवस्थल, सल्यानमा जानकारी गराएपछि प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा ७ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । नदीमा हाम फाल्नुको कारण भने खुल्न सकेको छैन ।


















