२०८२ फाल्गुन ८ गते शुक्रवार

सल्ली वनको स्कुलमा विद्यार्थीले सेलरोटी र पकौडा पकाउन थालेपछि……

तुलसीपुर, २३ माघ । कक्षाको चार भित्ताभन्दा बाहिर निस्कँदा जब किताबका अक्षरहरू स्वाद, गन्ध र पसिनासँग मिसिन्छन्, तब सिकाइ साँच्चिकै जीवन्त बन्छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, सल्लिबनस्थित श्री सरस्वती चौतारा माध्यमिक विद्यालयमा यही दृश्य देखियो, जहाँ विद्यार्थीहरूले विद्यालय प्राङ्गणलाई नै एक दिनका लागि खुला भान्सा र व्यावसायिक प्रयोगशालामा रूपान्तरण गरे।

विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘प्रयोगात्मक खाद्य मेला’ यस वर्ष पनि उस्तै उत्साह र सिर्जनशीलताका साथ सम्पन्न भयो। तर यो कुनै साधारण मेला थिएन। यहाँ बजारबाट झिकिएका तयारी खानेकुरा थिएनन्, थिए त केवल कच्चा सामग्री, दाउराको चुलो र विद्यार्थीहरूको सीप।

विद्यालयको खुला चौरमा सल्किएको दाउराको आगोमा अर्गानिक कोदोको सेलरोटी घुम्थ्यो, तातो तेलमा आलु पकौडा सुनौलो बन्थ्यो र म.म.को बाफसँगै विद्यार्थीहरूको आत्मविश्वास पनि बढ्दै जान्थ्यो । परिकार बनाउनेदेखि पस्कने, मूल्य तोक्ने र हिसाब राख्ने—सबै जिम्मेवारी विद्यार्थीहरूकै काँधमा थियो । शिक्षक र अन्य विद्यार्थीहरू भने ग्राहक बनेर उनीहरूले बनाएको स्वाद चाख्दै थिए।

कार्यक्रमको मर्म स्पष्ट पार्दै विद्यालयकी प्रधानाध्यापक लक्ष्मी न्यौपाने भन्नुहुन्छ, “हामी विद्यार्थीलाई किताबको पाठ मात्र होइन, जीवन जिउने सीप सिकाउन चाहन्छौँ। भान्साको आधारभूत ज्ञान, श्रमको सम्मान र सानो स्तरको व्यवसायिक सोच विकास गर्नु नै यस कार्यक्रमको उद्देश्य हो ।”

सानाठूला सबै विद्यार्थीहरूको सक्रिय सहभागिता मेलाको अर्को आकर्षण बन्यो। स–साना विद्यार्थीहरूले ‘पपन पसल’ (पपकर्न) सञ्चालन गर्दै किनबेचको अनुभव बटुले। पैसाको मूल्य, ग्राहकसँग बोल्ने तरिका र मेहनतको फल कस्तो हुन्छ भन्ने पाठ उनीहरूले अभ्यासमै सिके ।

विद्यार्थी र शिक्षकबीचको यो सामूहिक प्रयासले विद्यालयको वातावरणलाई अझ रचनात्मक, व्यवहारिक र जीवनमुखी बनाएको छ। आफ्नै हातले बनाएको अर्गानिक खाजाको स्वाद जति मिठो थियो, त्यति नै मिठो थियो विद्यार्थीहरूको आत्मविश्वास र सिकाइ । यो मेला केवल खानाको उत्सव होइन, आत्मनिर्भर भविष्यतर्फको सानो तर बलियो पाइला बनेको विद्यालयको विश्वास छ ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रवार
प्रतिक्रिया