२०८३ बैशाख २ गते बुधवार

दाङमा एक महिनामा १२ हजार बढीले सेवा लिए ,११ सय बढिलाई नागरिकता वितरण

फोटो फाईल

तुलसीपुर, २ वैशाख। जिल्ला प्रशासन कार्यालय दाङले पछिल्लो एक महिनाको सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले जिल्ला तथा मातहतका इकाइ मार्फत गत चैत महिनामा प्रदान गरिएका सेवाको विवरण आज सार्वजनिक गरेको हो।

प्रशासन कार्यालयका अनुसार गत चैत महिनामा कुल १ हजार १३७ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। जसअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट ४४६, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ४५३ र इलाका प्रशासन कार्यालय लमहीबाट २३८ जनाले नागरिकता लिएका हुन्।

त्यस्तै, सोही अवधिमा १ हजार ७८३ जनाले राहदानी बनाएका छन्। जसमा घोराहीबाट ९६२, तुलसीपुरबाट ३५० र लमहीबाट ४७१ जनाले राहदानी सेवा लिएका छन्।कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रतर्फ पनि उल्लेख्य सेवा प्रवाह भएको देखिएको छ। एक महिनाको अवधिमा ५ हजार ८८० जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जसमा घोराहीबाट २ हजार ५८०, तुलसीपुरबाट २ हजार ४१६ र लमहीबाट ४८४ जनाले परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका प्रशासकिय अधिकृत अम्मरराज शर्माद्वारा जारी सूचना अनुसार, विभिन्न प्रकृतिका सेवा गरी एक महिनामा कुल १२ हजार ८९५ जनाले सेवा लिएका छन्। कार्यालयले नागरिकका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य सहित प्रत्येक महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २ गते बुधवार
प्रतिक्रिया