काठमाडौ, २३ माघ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ भोलिदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् ।
नेपालले पर्सि आइतवार मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ । यस्तै पाकिस्तानले समूह चरणमा भारतसँगको खेल्न बहिष्कार गर्ने बताएको छ ।
आउँदो मार्च ८ सम्म चल्ने प्रतियोगिताको फाइनलका लागि दुई वटा सम्भावित स्थल तय भएका छन्, भारतको अहमदाबाद र श्रीलङ्काको कोलम्बो । प्रतियोगिता आउँदो मार्च ८ सम्म चल्नेछ ।प्रतियोगिताका खेलहरू भारतमा चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियम, नयाँदिल्लीको अरुण जेटली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम, कोलकाताको इडेन गार्डेन्स, अहमदाबादको नरेन्द्र मोदी स्टेडियम तथा श्रीलङ्कामा कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियम र सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदान र क्यान्डीमा रहेको पल्लेकेल इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछन् ।
प्रतियोगितामा २० वटा टोलीलाई चार समूहमा बाँडिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स र क्यानडा छन् ।



