२०८३ बैशाख २ गते बुधवार

तुलसीपुरमा ट्राफिक नियम उल्लंघन गर्ने १७ वटा अटो नियन्त्रणमा

तुलसीपुर, १७ माघ । दाङको तुलसीपुरमा ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालनमा रहेका १७ वटा अटोलाई ट्राफिक प्रहरीले एकैदिन नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुखका रूपमा ट्राफिक प्रहरी नायब निरीक्षक (सई) तिर्थराज भुषाल सरुवा भएर आएलगत्तै ट्राफिक व्यवस्थापनमा कडाइ सुरु भएको हो । बुधबार मात्रै कार्यालयमा हाजिर भएका सई भुषाल शुक्रबार स्वयं फिल्डमा खटिएर ट्राफिक नियम उल्लङ्घन गर्ने अटोहरू नियन्त्रणमा लिनुभएको हो । नियन्त्रणमा लिइएका अटोमध्ये मादक पदार्थ सेवन गरी चलाइएका, आवश्यक कागजपत्र नभएका, क्षमताभन्दा बढी यात्रु बोकेका तथा प्रालिमा दर्ता नगरी अवैध रूपमा सञ्चालन गरिएका अटो रहेको ट्राफिक प्रहरीले जनाएको छ । तुलसीपुर क्षेत्रको अस्तव्यस्त बन्दै गएको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, प्रभावकारी र अनुशासित बनाउने स्पष्ट लक्ष्यसहित आएका सई भुषालले ट्राफिक नियम कार्यान्वयनका सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।

‘ट्राफिक नियमको पालना गर्नु सबै नागरिकको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘नियम कार्यान्वयन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हो, तर नियम उल्लङ्घन गर्ने छुट कसैलाई पनि छैन ।’ कानुन कार्यान्वयनमा कडा स्वभावका मानिने सई भुषालले ट्राफिक नियम कार्यान्वयन गर्दा दुई दिनमै सरुवा हुनुपरे पनि आफू तयार रहेको बताउँदै कानुन मिचेर हिँड्न कसैलाई नदिइने दाबी गर्नुभएको छ । उहाँले सबै सरोकारवाला निकायसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापन सुधार र सडक दुर्घटना न्यूनीकरणका लागि गम्भीर रूपमा लाग्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । ट्राफिक प्रहरीको जनशक्ति सीमित भए पनि उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सिमित जनशक्तीको प्रभावकारी परिचालनमार्फत ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने उहाँको भनाइ छ । अब तुलसीपुरमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने कल्पना समेत नगर्न सई भुषालले सवारी चालकहरूलाई कडा चेतावनी दिनुभएको छ ।।

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिवार
प्रतिक्रिया