२०८२ फाल्गुन १ गते शुक्रवार

दाङमा एक युवकको निर्मम हत्या, १३ दिनसम्म हत्यारा पत्ता लागेन, प्रहरीले सूचना लुकाएको आरोप

तुलसीपुर, २८ पुष ।  दाङमा एक युवकको निर्मम रूपमा कुटपिट गरी हत्या गरिएको घटनामा १३ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् । घोराही उपमहानगरपालिका–९ अप्सरा निवासी ३४ वर्षीय विजय पौडेल यही पुष १५ गते राति करिब साढे ८ बजेको समयमा मृत अवस्थामा फेला परेका थिए। पौडेलको शव घोराही–९ स्थित हापुरखोलामा टाउकोमा ढुंगाले कुटिएको अवस्थामा भेटिएको मृतकका दाई कुमार पौडेलले जानकारी दिनुभयो । घटनाबारे प्रहरीमा जाहेरी दिएको करिब दुई हप्ता पुग्न लाग्दा पनि दोषी पहिचान तथा पक्राउ नहुनुका साथै प्रहरीले १३ दिनसम्म घटनाको सूचना गोप्य राखी सञ्चारमाध्यमलाई जानकारी नदिएको भन्दै पीडित परिवारले गम्भीर आपत्ति जनाएको छ ।

१३ दिन अगाडी युवकको हत्या भएपनी प्रहरीले घटना गुपचुप राखेर दोसीलाई पक्राउ गर्ने सवालमा वास्ता नगरेको पडितको आरोप छ । पीडित परिवार र स्थानीय बासिन्दाले दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्रबहादुर शाहले घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँका अनुसार पीडित पक्षको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको अनुसन्धान अघि बढाइरहेको छ । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले अन्तिम विवरण त्यसपछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।।

मृतक विजय पौडेल

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार
प्रतिक्रिया