रुसले पूर्वी युक्रेनको पोकरोभ्स्क सहर आफ्नो सेनाको नियन्त्रणमा आएको दाबी गरेको छ ।रुस र युक्रेनबीच महिनौँयता रक्तपातपूर्ण युद्ध चलिरहेको सो सहरको मध्यभागमा रुसी सैनिकहरूले झण्डा फहराइरहेको जस्तो देखिने भिडिओ रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको बीबीसले जनाएको छ । किएभले आफ्नो बन्दोबस्तीका सामग्रीहरू राखिएका मुख्य केन्द्रहरूको रक्षार्थ विशेष फौजसहित थप बल गत महिना त्यहाँ पठाएको थियो। युक्रेनले उक्त सहर गुमेकोबारे प्रतिक्रिया दिएको छैन। रुसले खार्किभ क्षेत्रको सीमावर्ती क्षेत्र भोभ्चान्स्क पनि कब्जामा लिएको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ भेटवार्ताका लागि मस्को आउनुअघि रुसले उक्त सहर कब्जाको घोषणा गरेको हो । अमेरिकाले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि दबाव दिइरहेको छ । अमेरिकाले शान्ति सम्झौताका लागि रुसको नियन्त्रणमा पुगेका भूभाग युक्रेनले त्याग्नुपर्ने प्रस्ताव अघि सारेको छ । तर युरोपेली नेताहरूले शान्ति सम्झौतामा सहमति गर्नुअघि युक्रेनको सुरक्षा प्रत्याभूति हुनुपर्ने सर्त अघि सारेका छन् ।
जेलेन्स्कीको प्रतिक्रिया
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका निम्ति रुससँग हुने शान्ति वार्ताका लागि युक्रेनको सार्वभौमिकता र सुरक्षा प्रत्याभूति आफ्नो देशको मुख्य प्राथमिकता रहेको बताएका छन् । अझैसम्म युक्रेनको नियन्त्रणमा रहेको भनिएको र किएभले त्याग गर्न अस्वीकार गरेको पूर्वी डोन्बास क्षेत्र रुसले माग गरिरहँदा जेलेन्स्कीले “भूभागको विषय सबैभन्दा कठिन“ रहेको बताएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग प्यारिसमा भएको भेटपछि जेलेन्स्कीले त्यस्तो प्रतिक्रिया दिएका हुन ्। उनले त्यहाँ यूके, जर्मनी, पोल्यान्ड र इटलीका नेताहरूसँग पनि कुरा गरेका थिए ।
शान्ति सम्झौताको खाका तयार हुँदै
युक्रेन र अमेरिकी वार्ताकारहरूले युक्रेनको शान्ति योजनाबारे तयार गरिएको मस्यौदा पुनरवलोकन गरेका छन । रिडामा दुई दिन चलेको बैठकमा उनीहरूले यसअघि रुसलाई फाइदा हुने भनिएको सम्झौताको मस्यौदा हेरफेरबारे छलफल गरेका हुन् । वार्ता सकारात्मक भए पनि थप कामहरू गर्नुपर्ने देखिएको यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले बताएका थिए ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ट्रम्प प्रशासन युद्ध अन्त्यका लागि सम्झौता हुनेमा “अत्यन्तै आशावादी रहेको“ बताएकी छन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक्समा एउटा ’पोस्ट’ गर्दै युक्रेनको सार्वभौमिकता र राष्ट्रिय हितहरू सुनिश्चित गर्दै वार्ता रचनात्मक र गतिशील भएको र सबै मुद्दाहरू खुला रूपमा छलफल भएको बताएका थिए।

